धरानः धरानकी राष्ट्रिय कलाकार तथा नायिका रेखा लिम्बूले अश्लिल भिडियोमा आफ नदेखिएको बताएकी छिन् ।
‘खासमा चिनियाँ, कोरियन, थाइल्याण्डका युवतीहरूसँग नेपाली मंगोलियन युवतीहरूको अनुहार मिल्छ, म पनि त्यस्तै देखिएकोले त्यसैबाट अफवाह फैलाइयो’, उनले स्पष्ट पार्दै भनिन्, ‘खासमा म त्यो होइन ।’
केही महिनाअघिबाट सोसल मिडियामा देखिएको एउटा अश्लील भिडियोमा देखिएको पात्र आफू नरहेपछि ढुक्क रहँदारहँदै आफन्त, शुभचिन्तकहरूमा बारम्बार फैलिएको र दिनहुँ आउने ‘फोन कल’ हरूलाई स्पष्ट पार्न उनले एक वक्तव्य निकाल्दै आफू र परिवारलाई मानसिक तनाव नदिन आग्रह पनि गरेकी छिन् । उनले भिडियोसँग नाम जोडेर नचाहिँदो तरिकाले अनावश्यक प्रचार गरिएको दुःखी तुल्याएको बताएकी छिन् ।
‘हुँदै नभएको कुरामा मलाई स्पष्टीकरण दिई राख्नुपर्ने आवश्यकता त थिएन तर पनि बारम्बार मलाई यही कुरामा मेरो आफ्नो नाम जोडेर मानसिक तनाव दिने कार्य अहिलेसम्म पनि बन्द नभएको कारणले गर्दा मैले आफ्नो धारणा पेश गरेकी हुँ ।’ उनले वक्तव्यमा उल्लेख गरेकी छिन् । ‘खाएको विष पो लाग्छ तर मलाई खाँदै नखाएको विष जबर्जस्ती खुवाएर मेरो चरित्रहत्या गर्न खोजिँदैछ, त्यसैले सबै सचेतवर्ग सचेत भइदिनुहोला ।’ उनले आफन्तले ‘आफ्नै होला र त चुप लाग्यो’ भनिदिएकाले नै वक्तव्यमार्फत् स्पष्टीकरण दिएको उल्लेख गरेकी छिन् ।
चिनजानकै साथीभाइहरूले शुरुमा तिमीजस्तै भनेर देखाएको र होइन भनेर प्रष्ट पार्दा त्यसको केहीदिनपछि आफन्त तथा समुदायमा पुगेको पनि रेखाले जनाएकी छिन् । ‘आफूजस्तै कुनै युवतीको भिडियो फेला पारेर नियोजित रूपमा आफूलाई बदनाम गर्न खोजियो’, उनले भनिन्, ‘हाल साइबर क्राइमसम्बन्धी उजुरी समेत परिसकेको छ, अझै केही स्पष्ट होला नि ।’
नायिका रेखालाई बदनाम गर्ने कुचेष्टा गर्दै अश्लील भिडियो निकालेको भन्दै चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ ले विज्ञप्ति जारी गरेर भत्र्सना समेत गरिसकेको छ ।
