धरानः धरान–१९ स्थित किरातेश्वर माविले विद्यार्थीले रेडियो सुनेर पढुन् भनेर मोबाइल प्रदान गरेको छ ।
कोरोना संक्रमणको त्रासका कारण विद्यालय ठप्प रहेपछि धरानको यो विद्यालयले यस्तो उपाय अपनाएको हो । अहिले रेडियो, टिभी, कम्प्युटर, इन्टरनेटलगायतका वैकल्पिक माध्यमअनुसार स्कुले बालबालिकाहरूका लागि पठनपाठन भइरहेको छ ।
एफएम रेडियोको पहुँच रहेका तर रेडियो किन्न नसक्ने, वाइफाइ नजोडेका, घरमा टिभी नभएका विद्यार्थीलाई रेडियो दिइएको प्रधानाध्यापक योगेन्द्र पालुङ्वाले जानकारी दिए ।

सरकारले पनि वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गर्दै दोस्रो विकल्प शिक्षामा रेडियो कक्षालाई नै राखेको छ । अहिले पनि स्थानीय तहहरुले रेडियो कक्षा सञ्चालन गरिरहेका छन । धरानमै पनि केही बजेट आएर एफएम, टिभीबाट पठनपाठन भइरहेको छ ।
वैकल्पिक प्रणालीमार्फत् विद्यार्थीहरुको सिकाइ कार्यमा मद्दत पुगोस् भन्ने उद्देश्यले अमेरिकामा बसी ब्यवसाय गर्दै आएका लिला राईले कक्षा–६ देखि १० कक्षासम्म अध्ययनरत् ५० जना जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई रेडियो (एफएम) मार्फत् कक्षा लिनका लागि ६० हजार रूपैयाँ सहयोग दिएपछि विद्यार्थीलाई रेडियो किनेर दिइएको उनले जानकारी दिए । मोबाइलसँगै धरानका रेडियोबाट पठनपाठन हुने तालिकासमेत दिइएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान लिम्बुले सो सामग्री प्रदान गरेका थिए ।
सामाजिक एवं भौतिक दुरी कायम गर्दै एक कार्यक्रमका बीच उनीहरूलाई रेडियो दिइएको उनले जानकारी दिए । ‘कोरोनाको सन्त्रास तत्काल कम हुने सम्भावना देखिएपछि तत्काल विद्यालय पनि सञ्चालन हुने अवस्था देखिन्न,’ प्रधानाध्यापक पालुङ्वाले भने, ‘यस्तो अवस्थामा बालबालिकाहरुलाई सिकाइसँग निरन्तर जोड्नका लागि यी वैकल्पिक साधनले पनि केही सहयोग बन्नेछन् ।’
उनले कक्षाकोठाजस्तो नभएपनि यस्ता वैकल्पिक प्रयोग फलदायी भएको धारणा राखे । ‘पक्कै पनि कक्षाकोठामा शिक्षकसँग फेस टु फेस सिकेको जस्तो फलदायी यो सिकाई विधी हुँदैन,’ उनले भने ‘तर सिकाइमै केन्द्रीत गर्नका लागि यसले ठूलो मद्दत भने पुरयाउँछ नै ।’
त्यसो संघीय सरकारले विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिनका लागि ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका’ जारी गरिसकेको छ । यो निर्देशिकामा पहिलो सबै पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई पाठ्यपुस्तक वितरण गर्ने उल्लेख छ ।
त्यस्तै, दोस्रो विकल्पमा रेडियो कक्षा राखिएको छ भने तेस्रोमा टेलिभिजन कक्षा, चौथोमा कम्प्युटर र पाँचौंमा इन्टरनेट कक्षालाई वैकल्पिक सिकाइका रुपमा उल्लेख गरिएको छ । यी पाँच विकल्पमध्ये पहुँचका आधारमा स्थानीय तहहरुले सिकाइ गर्न सक्ने प्रावधान राखिएको छ । तर पनि अधिकांश पहुँच नभएका बालबालिका सरकारले जारी गरेको निर्देशिकाबाट पनि वञ्चित हुने अवस्था छ ।




