धरानः धरानकी विलम राईले बोलेरै अर्थात् देशव्यापीरुपमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा भाग लिएर पहिलो स्थान हात पारेकी छिन् ।
अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान–१७ की विलम चाम्लिङ राई प्रथम भएकी हुन् । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आफ्नो २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृभाषामा शिक्षा विषयक’ देशव्यापीरुपमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा राई विजेता भएकी हुन् ।
किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौ १७ गते २२ औं स्थापना दिवस हो । प्रतियोगिता विजेता राईले पुरस्कार स्वरुप ३० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोतियोगिताका लागि विजेता राईले सांस्कृतिक पहिरनमा प्रस्तुत भई सो विषयमा ५ मिनेट ११ सेकेन्ड लामो प्रस्तुति दिएकी छिन् । धरानको डिपो उच्च माविमा स्नातक दोस्रो वर्षमा अध्ययनरत राईले यसअघि २०१७ मा मिस प्लस टुमा फस्ट रनर अप हुँदै मिस डिसिप्लिनको उपाधि समेत जितेकी थिइन् ।
प्रतियोगितामा अनिता माझी दोस्रो र छिरिङ शेर्पा तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले जनही नगद २० हजार, १० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सुजन विष्ट, संगीता राई र दिवस लोहोरुङ राई सान्त्वना भएका छन् । जुनियर सहभागीको रुपमा कक्षा सात पढ्दै गरेकी दिव्या राई तथा फरक क्षमता भएका उत्तम लावती लिम्बू पनि पुरस्कृत हुने भएका छन् ।
सान्त्वना तीनैजनालाई ५ हजार रूपैयाँको दरले तथा जुनियर सहभागिता तथा फरक क्षमता भएका प्रतियोगीहरूलाई तीन हजारको दरले नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजक किरावी संघका केन्द्रीय अध्यक्ष जितेन राईले जानकारी दिए ।
प्रतियोगिता देशभरबाट १०९ जना सहभागि भएको निर्णयक समितिको संयोजक डा. तारामणि राईले जानकारी गराए । निर्णय सार्वजनिक गर्ने क्रममा प्रतियोगितामा पूर्व मेचीदेखि महाकालीसम्मबाट सहभागी भएको जनाउँदै देशब्यापी र विषय सान्दर्भिक भएको डा. राईले बताए । प्रतियोगितामा विषयवस्तु, भेषभुषा, हाउभाउ लगायतको विषय समेटेर निर्णय गरिएको निर्णायक खिलराज राईले बताए । प्रतियोगिताको लागि सहभागीहरूबाट ५ मिनेटको भिज्युअल मगाइएको थियो । सो हेरेर पाँचजना निर्णायकहरूले सर्वसम्मत निर्णय गरेका थिए ।
जुम प्रविधिमा भर्चुअल कार्यक्रम
प्रतियोगिताको नतिजा सार्वजनिकसँगै जुम प्रविधिमा भर्चुअल कार्यक्रम सम्पन्न भएको थियो । किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाषा आयोगको मातृभाषा विभाग प्रमुख डा. लोकबहादुर लोप्चान, भाषाविद अमृत योञ्जनले मातृभाषा पठनपाठनको महत्वबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा किराया केन्द्रीय उपाध्यक्ष तथा भातृ संगठन विभाग प्रमुख जीवन हाताचो राई, किरात राई विद्यार्थी संघको पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, पूर्व महासचिव डेकिन्द्रकुमार राई, किरात राई कर्मचारी संघको कार्यवाहक अध्यक्ष खिलराज राई लगायतले शुभकामना दिएका थिए । संघको केन्द्रीय अध्यक्ष जितेन राईको सभापतित्वमा आयोजित कार्यक्रममा संघकी पूर्व अध्यक्ष बिर्सिका राई लगायतको संघका वर्तमान केन्द्रीय पदाधिकारी सदस्यहरु खोटाङ, सोलुखुम्बु, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, उदयुपर, पाँचथतरलगायतबाट सहभागी भएका थिए ।