नाच्नु परम्पराका हिसाबले मात्रै होइन, स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । मानिसहरू अरू नाचेको हेर्न मनपराउँछन् । संसारभर धेरै देशका टेलिभिजनमा समेत डान्सका सोहरू निकै लोकप्रिय बनेका छन् । ती सुन्दर नृत्य हेरेर रमाउने कमैलाई मात्रै थाहा होला, नृत्य शरीर र मस्तिष्कलाई स्वस्थ राख्ने महत्वपूर्ण उपाय हो । अध्ययनहरूले नृत्यले तौल नियन्त्रण गरी सन्तुलन कायम गर्न, तनाव घटाउन, मित्रता बढाउन र अन्य धेरै कुरामा फाइदा पुरयाउँछ । यस्ता छन् नृत्यका बहुआयामिक फाइदा–
स्मरणशक्ति वृद्धि गर्छ
नृत्यले मानिसलाई खुसी राख्न मद्दत गर्छ । वैज्ञानिकका अनुसार उमेर बढेसँगै दिमागको एक भागको हिप्पोक्याम्पसको आकार घट्दै गएको हुन्छ । नृत्यले त्यो हिप्पोक्याम्पसलाई नियन्त्रण गर्छ र स्मरण शक्तिलाई सन्तुलनमा राखी ताजा गराउन सहयोग गर्छ ।
लचकता वृद्धि गर्छ
नृत्य गर्दा एक विशेष प्रकारको हर्मोन उत्पादन हुन्छ, जसले सुन्दरता बढाउनुका साथै शरीरको कडापन घटाएर लचकता बढाउँछ ।
तनाव कम गर्छ
यदि हामी केही चिन्ताको महसुस गर्छौं भने त्यो समयमा केही क्षण मौन बसेर पनि केही नसोची चुपचाप बस्छौँ । तुरुन्तै संगीतको साथमा नाच्ने र गाउने गर्यो भने पनि चिन्ता कम हुने केही अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । त्यसवेला हामी संगीत र गीत सुनेर नृत्यमा तल्लीन हुने भएकाले त्यसले हामीलाई चिन्ताबाट टाढा राख्न सहयोग गर्छ ।

साथी बनाउन सहयोग गर्छ
नृत्य निकै छिटो सामाजिकीकरण गराउने एक भरपर्दो माध्यम भएको छ । किनभने, नृत्य गर्दा विभिन्नकिसिमका मानिससामु विनाहिहकिचाहट स्वस्फूर्त नाच्न सकिन्छ । यसले सकारात्मक भावनाको विकास गर्न सहयोग गर्छ, साथसाथै शारीरिक तन्दुरुस्तीमा पनि सहयोग गर्छ । अर्को कुरा नृत्यको सम्बन्ध सामाजिक रूपमा हुने भएकाले पनि आफैँलाई एकप्रकारले बलवान् भएको महसुस गराउँछ ।
डिप्रेसन कम गराउँछ
नृत्यले आत्मालाई पनि शान्त राख्न सहयोग गर्छ । साथसाथै, आत्माको मिलन गर्ने काम गर्छ । नृत्यले अरूको मन आकर्षित गर्छ । दर्शकको भिडमा नृत्य प्रस्तुत गर्दा गुमेको शक्ति पनि फर्किन्छ, यसले आफ्ना सबै पीडा भुलाउन सहयोग गर्छ । यसबाट आफ्नो मन शान्त भएको महसुस गर्छ ।
वजन कम गर्छ
शारीरिक कसरत गर्दा मानिसको तौल कम हुने गर्छ । शरीरका सम्पूर्ण भाग हल्लिने भएकाले पनि तौल कम गर्न सहयोग गर्छ । नृत्य गर्दा पसिना निस्कन्छ, जसका माध्यमबाट अनावश्यक चिल्लोपदार्थ शरीरबाट बाहिर निस्कने हुन्छ । नृत्य व्यायामको अत्यन्त सरल, सुलभ र प्रभावकारी माध्यम हो । यसले शरीरमा सन्तुलन कायम राख्न सहयोग गर्छ ।
आफ्नो जीवनदेखि दिक्क लागेका वेला नृत्यले शरीरमा छुट्टैखालको शक्ति प्रदान गर्छ । नृत्यले मानिसको शरीरिक बनोट नै परिवर्तन गरिदिन्छ । एक अध्ययनअनुसार शरीरलाई बंग्याएर नाच्दा शरीरलाई सन्तुलनमा राख्न सहयोग पुग्छ । तेज गतिमा नृत्य गर्दा शरीरको लचकता बढ्न गई मुहारमा हाँसो छाउँछ । यसले शरीरका सम्पूर्ण भागलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।


आत्मविश्वास बढाउँछ
नृत्य मानिसमा आत्मविश्वास बढाउने भरपर्दो माध्यमका रूपमा विकास भएको छ । नृत्य गर्दाका क्षण सबै कुरा भुलेको हुन्छ, जुन पछि बिस्तारै बानीका रूपमा विकसित हुन्छ । यसले मानिसमा बेग्लै खुसी प्राप्त हुन्छ, जुन आत्मविश्वास बढ्ने महत्वपूर्ण आधार हो ।
समग्रमा, नृत्यले स्वस्थ बनाउँछ
हिजोआज मानिसहरू दैनिकजसो नाच्न मनपराउँछन् । यसले मानिसलाई समाजमा घुलमिल हुन सहयोग गर्छ । यसबाट पर्याप्त शारीरिक व्यायाम हुन्छ । यसले तौल घटाउने, शरीरलाई लचकदार बनाउने, चिन्ता कम गराउने, तनाव कम गराउने, शरीरलाई सन्तुलनमा राख्ने भएकाले समग्रमा स्वस्थ राख्ने काम गर्छ ।