धरानः चिनियाँ वैज्ञानिकहरुको नयाँ अनुसन्धानमा आमाको दूधले कोरोना भाइरसँग लड्न मद्दत गर्ने पत्ता लागेको छ ।
अध्ययनअनुसार ‘ह्युमन ब्रेस्ट मिल्क’ मानव स्तन दूधले कोरोनालाई रोक्न वा उपचार गर्न सक्दछ ।
कोरोना भाइरसको सम्पर्कमा रहेका कोषहरूमा मानव स्तन दूधको प्रभावको परीक्षण गरिएको थियो । बेइजिङका अनुसन्धान टोलीले सन् २०१७ मा उक्त दूध जम्मा गरेका थिए ।
परीक्षणमा मानव स्तन दूधले अधिकाँश जीवित भाइरसलाई मारिदिएको साथै दूधले भाइरसलाई रोक्न सकेको बेइजिङ युनिभर्सिटी अफ केमिकल टेक्नोलोजीका प्राध्यापक तोङ यिङग्याङ बताउँछन्।
यसअघि स्तनपानबाट कोरोना भाइरस फैलिन्छ भन्ने खबरहरु सार्वजनिक भएका थिए । अमेरिकी रोग नियन्त्रक केन्द्रले पनि कोरोना संक्रमित आमाबाट स्तनपान गराइएका बच्चामा कोरोना सर्ने र उनीहरुले अरुलाई कोरोना सार्ने जनाएको थियो ।
तर चिनियाँ अनुसन्धानले विश्व स्वास्थ्य संगठनको भनाइमा समर्थन जनाएको छ। डब्लूएचओले कोरोना संक्रमित आमाले बच्चालाई स्तनपान गराउँदा केही नहुने बताएको थियो । एससीएमपी