Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः दैनिक ३० मिनेट योगाभ्यास गर्दा उच्च रक्तचापमा कमी

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
नयाँ अध्ययनः दैनिक ३० मिनेट योगाभ्यास गर्दा उच्च रक्तचापमा कमी

धरानः दैनिकरूपमा ३० मिनेट योगाभ्यास गर्दा उच्च रक्तचापमा कमी आएको एक अनुसन्धानले देखाएको छ।
नेपाल र विदेशका अनुसन्धानकर्ताहरू मिलेर नेपालका १ सय २१ जना उच्च रक्तचापका बिरामीमा एक वर्ष लगाएर गरेको अनुसन्धानले दैनिक आधा घण्टा योगाभ्यास गर्दा तीन महिनामा माथिको रक्तचाप ७ र तलको रक्तचाप लगभग ४ अंकले घट्ने देखाएको छ।
रामेछाप, नुवाकोट, घादिङ, कास्की, सुर्खेत, रोल्पा, रूपन्देहीका १ सय २१ मानिसलाई अनुसन्धानमा समावेश गराइएको प्रमुख अनुसन्धानकर्ता डा. राजाराम ढुंगानाले जानकारी गराए।
अनुसन्धानमा ६१ जनालाई तीन महिनासम्म दैनिक ३० मिनेट योगा गराइएको थियो भने ६० जनालाई योगा गराइएको थिएन। उनका अनुसार योगा गर्ने मानिसमा माथिको रक्तचाप ७ र तलको रक्तचाप लगभग ४ अंकले घटेको देखाएको थियो ।
रक्तचाप घट्ने मात्रा महिला वा पुरुष, औषधी खाने वा नखाने, धूमपान गर्ने वा नगर्ने सबैमा उत्तिकै देखिएको हो। नेपालमा कतिपय उच्च रक्तचापका बिरामीले सामान्यतयः आफ्नै हिसाबले योगाभ्यास गर्दै आएका छन् । तर कुन–कुन योगासन, कति–कति समय र अवधि गर्ने भन्ने प्रष्ट छैन।
‘अनुसन्धानअनुसार दिनको ३० मिनेटमध्ये सुरुको ९ मिनेट सुक्ष्म व्यायाम र साधारण आसन, त्यसपछि ९ मिनेट चन्द्रभेदी, नाडीसुद्धी, भ्रामरीलगायतका प्राणायाम र बाँकी रहेको १२ मिनेट योगनिद्रा तथा सवासनमा ध्यान र आराम गर्दा बढी लाभकारी हुने देखियो,’ डा. ढुंगानाले भने।
उच्च रक्तचापको बिरामीले औषधीका साथै नियमित योग गर्नाले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने उनी बताउँछन्।नेपाल अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा नेपालमा चारजना व्यक्तिमध्ये एकमा उच्च रक्तचाप पाइएको छ।
रक्तचाप भएका व्यक्तिमध्ये आधाभन्दा कमले मात्र औषधी सेवन गर्ने र एक चौथाइभन्दा कममा मात्र रक्तचाप नियन्त्रणमा रहेको देखिएको छ। उच्च रक्तचापका बिरामीमा मुटुजन्य रोग, मस्तिष्कघात र मिर्गाैला काम नलाग्ने हुनसक्ने सम्भावना धेरै रहन्छ।
स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको वैज्ञानिकहरूको छैटौं भेलामा डा. ढुंगाना यस विषयको कार्यपत्र मंगलबार प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend