हिन्दूहरुको महान चाड विजयादशमी सकिएसँगै यस पछाडि अन्य समुदायका विशेष पर्वहरु पनि आउँदैछन् । नेपालको परिपेक्षमा कोभिड–१९ को जोखिम झनै उच्च भएको अहिलेको परिस्थितिमा सरकारी निकायहरुबाट के–कस्तो कुराहरु आइराखेका छन् भन्दापनि आ–आफ्नो तहबाट के गर्न सकिन्छ भन्ने कुराले अत्यन्त महत्व राख्दछ । किनकि कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि हामी आफै सचेत हुन सकेमा प्राथमिक तहमा बच्न सकिने कुरा सिद्ध नै भैसकेको छ ।
कुनै पनि व्यक्तिले आफ्नो स्वस्थकर जीवन , योग अभ्यास, खानपानको शैली र कोभिडको संक्रमण जोखिम कम गर्न आफ्ना लागि उपयोग गरेका पद्धतिले उच्चतम बिन्दुको जोखिम पनि टर्छ भन्ने कुरा कोरोनाको संक्रमण सम्प्रेषण हुन सक्ने तथ्यले पनि पुष्टि गर्दछ । नेपालको सवालमा एकातिर चाडवाडको माहोल बढ्दै मानिसरुको चहलपहल अनि हिँडडुल, र चाडबाडको अवसर पारेर खानपिनको तलमाथि पर्ने जोखिम छन् भने अर्को तर्फ चिसो मौसम बढ्दै जाँदा सामान्य चिसो खासी रुघा–ज्वरोको जोखिम पनि बढेको छ ।
यसको साथै कोरोनाको कहर पनि अब नियन्त्रण बाहिर भइसकेको कुरा सबै माझ प्रस्ट नै छ । त्यसैले अबको समयमा आम जनमानसले आफ्नो स्तरबाट जति सक्दो सुरक्षित जीवनशैली अपनाउन सकेको खण्डमा कोभिडको जोखिमलाई आफै टाढा राख्न सकिन्छ । यसको लागि विशेषरूपमा ध्यान दिनपर्ने कुराहरुमा हामीले अपनाउने खानपान, आहार–व्यहार, योग कसरतका अभ्यास, अत्यन्तै जरुरी काम परे मात्रै त्यो पनि भीडबाट जोगिने गरी मात्रै बाहिर जाने, दीर्घरोगी व्यक्तिले आफ्नो स्वास्थ्यको जोखिम राम्रोसँग बुझेर जीवनयापन गर्ने र सम्भव भएसम्मका सुरक्षाका उपाय अपनाउन अत्यन्त जरुरी हुने देखिन्छ । यस अन्तर्गत हाम्रो जीवनशैली अनि चाडवाडको भिडमा हामीले अपनाउने पद्दतिहरुले पनि गहन भूमिका खेल्ने गर्छन् ।
कोरोनाको जोखिम बढेको यस विषम घडीमा चाडवाडलाई अनावश्यक रूपमा भीडभाडको नीऊ बनाउन कम गर्नुपर्छ । तिहार, छठ जस्ता पर्वमा परिवार इस्टमित्र आफन्तसँग भेटघाट गर्ने, सँगै बसेर मीठो मसिनो चिल्लो गुलियो परिकारले माहोल बनाउने अधिक मात्रामा खाने हामी सबैको सामान्यतया अभ्यास या भनौ बानी जस्तै हुन्छ तर अहिले परिस्थिति फरक छ । अहिले कोरोनाको कहरबाट छुटकारा पाउन सकेको खण्डमा आउदा वर्षमा चाडपर्व फेरी मनाउने अवसर जुट्छ भन्ने ठानेर आफ्ना एकदम निकटका परिवारजन (तत्काल परिवार) अझै भनौं दैनिक सँगै बस्ने सदस्य मात्रै सँगै बसेर उत्सवलाई सुरक्षित र मर्यादीत बनाउनु सबै सामाजिक सदस्यको जिम्मेवारी हुन आउँछ ।
आफ्नो सुरक्षा पहिलो आफ्नो जिम्मेवारी भन्ने कुरा चेतनशील भएर त्यही अनुरुप जिबनयापन गर्न सके कोरोना जताततै भएको बेला आफू भने अछुतो रहन सकिन्छ । कोरोनालाई भगाउदै दशैं तिहार मनाउनपर्ने स्थितिमा चाडबाड आएका हुन् कोरोना गएको हैन भन्ने कुरा हेक्का राख्न जरुरी छ । भौतीक दूरी राख्ने, बाहिर कतै गएर आउँदा वा केही कामकाज गरेपछि मिचीमिची साबुन पानीले सफा तरिकाले हात गोडा धुने, व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने , नियमित स्वास्थ्य जाच गर्नुपर्ने मानिसहरुले फोनबाट वा सम्भब माध्यमबाट चिकित्सकको परामर्श लिने, नियमित ब्यायाम र स्वस्थकर आहार व्यहारमा ध्यान दिने, बाहिर हिँडडुल गर्दा मास्कको नियमित प्रयोग गर्ने, साबुन पानीले हात धुने र जोखिम समूहका मान्छेलाई अझै बढी ख्याल हेरचाह गर्न जरुरी देखिन्छ ।
चाडवाड आएका हुन् कोरोना भने गएको होइन । त्यसैले जोखिम बाँकी नै छ । हामीमध्ये कतिलाई ख्याल पनि नहोला, के के खाने भन्दापनि नखाने चीजको पहिचान गर्न सकेर हाम्रो खानाबाट हटेको खण्डमा हाम्रो स्वास्थ्यमा आउने धेरैजसो समस्या आफै टरेर जान्छन् । चाडपर्वसँगै जोडिएर आउने कुरा भनेको खानपानको अनियामितता, धेरैखाले खानेकुरा शरीरलाई गाह्रो पर्ने गरेर एकैपटक खाने, जमघट, आराममा अनियमितता मध्यपानमा बृद्धि हुने गर्दछ। यी सबै हाम्रो चाडबाड मनाउने तरिकाका भाग जस्तै भएर हामीमाझ भएपनी हामीलाई हानी गर्ने हुन्छन् ।
स्वस्थकर खाने कुरा र पूर्ण पौस्टिक तत्व भएको खाना नियमित खाएको खण्डमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो तरिकाले क्रियाशील हुन्छ र कुनै संक्रमण जन्य किटाणुलाई सफाई गर्न पनि शरीर तत्पर हुन्छ । सामान्यतया चाडबाडको अवसरमा विभिन्न पकवानहरु बनाएर खाने हाम्रो चलन छ जसमा बढी चिल्लोजन्य (तारेका, झानेका, घिउ बढी हालेर बनेका) खानेकुरा, एकैपटकमा विभिन्न खाले मासु, रक्सीजन्य पेय पदार्थको अत्याधिक सेवन र अन्य मध्यपान गर्ने, अनि रमाईलोको निऊमा आराम नगर्ने, यात्राको मात्रा पनि यस्तै बेला बढेको हुन्छ ।
यी सबै खाले क्रियाकलाप कोरोना भाइरसको संक्रमणको लागि जोखीम बढाउने खाले हुन् त्यसैले, सकेसम्म सामान्य र सबैखाले पौस्टिक तत्व समावेश भएको खानपान गर्ने, ताजा फलफूल तरकारीहरुको उपयोगलाई प्राथमिकतामा राख्नुस् र धेरैखाले मासु एकैपटकमा सकेसम्म खानु उचित हुँदैन, पाचन प्रणालीमा असर गरेर झाडावान्ता गराउन सक्दछ, त्यसैले त्यस्तो बानी हटाउनुस् । नियमित समय निकालेर ब्यायाम गर्ने, धुम्रपान मध्यपान बाट टाढा नै रहने , सकेसम्म कम चिल्लो या चिल्लोराहित खाने कुरा वा पकवान तयार गर्ने खाने र खुवाउने, धेरै जटिल पाराले पाकेका र प्रशोधित खाने कुरा खान कम गर्ने गर्न अत्यन्त जरुरी हुन्छ ।
हामीमध्य कतिपयको बुझाइ ब्यायाम, कसरत आदि गरेर धेरैको जिउ घटाउने मात्रै कामको रूपमा रहेको पाइन्छ तर वास्तवमा नियमित ब्यायाम या योग–अभ्यासले जिउ क्रियाशीलतामा सकारात्मक असर हुन्छ र कुनै पनि बिकार निर्मूल गर्नका लागि ब्यायाम गर्ने जिउ बढी मात्रामा अग्रसर हुने कुरा पनि तथ्यपरक नै छ । त्यसैले धेरैजसो घरमा नै सीमित यस परिस्थितिमा ब्यायाम, कसरत एवम् योग सकारात्मक प्रभाव पार्ने नियमित बानीको रुपमा विकास गरौँ ।
बाहिर हिँड्दा कोसँग कोरोना छ र कसलाई संक्रमण भएको छैन हेरेर छुट्टीदैन र अर्को कुरा अहिलेको समयमा लक्षणरहित संक्रमणको पनि डर नै छ । चाडबाडमा टिकाटालो गर्न होस् या भेटघाटको निऊले होस या बजार रमाइलो हेर्ने लामो समयको रहरले मानिसहरु निस्किने क्रम हुन सक्छ जसले भिड बढाउने त छँदैछ संक्रमणलाई परालको आगो जस्तो फैलाउने महत्वपूर्ण साङ्ग्लो स्थापित गर्न मद्दत पुरयाउँछ ।
यदि तपाइलाई भिडभाडले निम्त्याउने जोखिमबारे थाहा भएको खण्डमा अत्यावश्यक नहुँदासम्म बाहिर निस्किन बन्द गर्नुस, भिडमा जानैपरे मस्कको प्रयोग र स्यानिटाइजरको उचित प्रयोग र घर फर्केपछि उचित सर सफाईमा ध्यान पुरयाउनुस् । यो वर्ष घरमै बसेर चाडबाड मनाउनुहोस्, आशिर्वाद फोनेबाटै लिनुस् अनि सबैलाई शुभकामना पनि फोनकै प्रयोग गरेर आदान प्रदान गर्नुहोस् । कोरोना गएपछि अर्को साल पनि आउछ भेटघाट गरेर टिका थाप्ने दशैं। तपाईले भेट्ने र तपाईलाई भेट्ने सबैले उतिकै तहको कोरोना सार्ने जोखिम बोकी राख्नुभाको छ भन्ने हेक्का राख्नुस् ।
पैसाबाट पनि कोरोना सर्ने जोखिम रहेकाले हाम्रो दक्षिणा पनि लेनदेन नगरेको बेस हुने देखिन्छ । देउसी भैलो नाचगान जमघट पनि घरभित्रै सिमित गराउनुस् । आफन्त इस्टमित्रलाई खुलेर भन्नुस् यसपाली फोनबाटै शुभकामना आशिर्वाद ।
तपाई आफ्नो स्वास्थ्य अबस्थाको बारेमा जानकार भएपछि मात्रै थाहा हुन्छ कस्तो जोखिम समूहमा तपाई पर्नुहुन्छ भन्ने । त्यसैले आफ्नो स्वास्थ्य अवस्थाबारे जागरुक भएर आफ्नो सुरक्षा अपनाउन जरुरी हुन्छ । जसरी कोरोनाका लागि दीर्घरोगको कारण औषधि सेवन गर्ने, फोक्सो सम्बन्धी रोग भएका मान्छे र बुढ्यौली लागेका उमेर समुहका व्यक्तिहरु र बालबालिकामा बढी जोखिम हुन्छ । आफ्नो घरमा यस्ता खाले परिवारजन हुनुहुन्छ भने सकेसम्म आफूले उहाँहरुको लागि जोखिम कम गर्ने सकिने विधि जस्तै बाहिरबाट आउने बितिकै उहाँहरुलाई प्रत्यक्ष सम्पर्क नगर्नुस् । यदि तपाई कोरोना लाग्ने जोखिम जन्य काममा संग्लग्न हुनुहुन्छ भने परिवारसँग भेट नि केही समयलाई कम गर्दा पनि हुन्छ । जस्तै हालै स्वास्थ्य क्षेत्र, यातायातमा र अन्य संक्रमितको प्रत्यक्ष सम्पर्क हुने खाले काम गर्ने कतिपयले परिवारलाई प्रत्यक्ष नभेटेको महिनौ भएको खबर हामी माझ सर्वविदितै छ ।
तसर्थ जोखिम बुझ्नु र सोही अनुरुप सुरक्षा अपनाउन अत्यन्त जरुरी छ । यसका अलावा अन्य सुरक्षाका उपाय जस्तै साबुन पानीले नियमित हात धुने, भौतिक दूरी कायाम गर्ने, बाह्य स्रोतका सामानलाई आवश्यक सफाइपछि मात्रै घरभित्र प्रयोजनमा ल्याउने, घरका जोखिम समूहका सदस्यलाई विशेष हेरचाह र सामाजिक उत्तरदायित्वका साथ यस्तै कुरालाई जिम्मेवारीपूर्ण तरिकाले निभाएर सभ्य र सुसंस्कृत चाडपर्ब मनाउन सके पर्वले हर्ष ल्याउला अर्को तर्फको दिक्दारीपूर्ण अवस्थामा कोही पुग्न नपर्ला ।
र अर्को महत्वपूर्ण कुरा भनेको तपाईको टोल छिमेकमा कोही कोरोना संक्रमित हुनुभएको छ भने उहाँहरुलाई केही आवश्यक परेको छ भन्ने फोन या दूरीको कुराकानीबाट आफूले सक्ने सहयोग गर्नुहोस् किनकि सद्भाव र सहयोगले उपेक्षित हुँदा तपाईँ आफूलाई पनि कस्तो महसुस होला ? अनुमान गर्न सकिन्छ ।
तसर्थ सबैले आ–आफ्नो ठाउँबाट सकेसम्म सामाजिक उत्तरदायित्व सम्झेर यो प्रतिकुल समयमा समन्वय गर्नसके पोहोर छुटेको चैते दशैं लगयात सबै पर्व मनाउन पाउने छौँ । अहिलेलाई सुरक्षित जिबनशैली र जोखिम न्युनिकरणमा आउनुस् सबै एकिकृत रूपमा लागौं र कोरोनालाइ छिट्टै समुदायबाट निर्मुल पारौं ।
लेखिका सुक्ष्मजीव विज्ञानमा अनुसन्धानरत छिन् ।