Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘माया गर्छु’ सार्वजनिक

हाम्रो कोशी आवाज
कार्तिक २१ २०७७, शुक्रबार
धरानमा ‘माया गर्छु’ सार्वजनिक

धरानः पूर्वेली गायिका सरिता राईद्वारा स्वरबद्ध ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा सार्वजनिक गरिएको छ ।
धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई समेटिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ ।
गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । शिरकुमार साङपाङको छायाङ्कन रहेको भिडियोमा सम्पादन तथा निर्देशन बसन्त उम्बुले राईले गरेका थिए । भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, गायक गंगा बरदानलगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा निर्माता क्रान्ति सुब्बाले १० हजार रूपैयाँ सहयोग गरेका थिए ।
सरिताको यात्राः गायनसँगै मोडलिङ
करिअर अगाडि बढाउँदै आएकी उदयपुर बेलका नगरपालिका–७ मैनामैनीकी हुन् सरिता । नेपालमा अवसरै छैन अवसर छैन भन्नेहरूका लागि सरिता एउटा उदाहरण बन्दै गएकी छिन् । गाउँ (उदयपुर) बाट शहर (धरान) छिरेको धेरै भएको छैन ।
गाउँबाट धरानमा उच्च शिक्षा हासिल गर्न दुई वर्षअघि छिरेकी उनी अहिले म्युजिक भिडियोमा ‘अफर’ गर्नेसम्म भइसकेकी छिन् । तर उनको प्यासन गीत–सङ्गीत क्षेत्र नै हो । शुरूमा धरान आएर उनले प्लस टु पढ्दै विनोद प्रियदर्शी राईसँग सङ्गीत सिकिन् । अहिले पनि उनीसँगै सङ्गीत सिकिरहेकी छिन् । ‘रूचीचाहिँ गीत–सङ्गीत नै हो तर आजसम्म आइपुग्दा धेरै म्युजिक भिडियोमा अफर आयो र खेलियो पनि ।’ उनले भनिन् ।
उनले मकैको फूल भुटी फूल चाम्रो, को हो त्यो, बेली बाबरीलगायतका आधा दर्जन बढी गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । ‘म त गाउँकी युवती धरानमा अफर आउँछ’, उनले भनिन्, ‘त्यसैले पनि गीत–सङ्गीत साथै म्युजिक भिडियोबाटै करिअर बनाउने भविष्यको योजना छ ।’ उनले भनिन् । उनले बाबुआमा साथ र साथीभाइको हौस्याइले अघि बढेको बताइन् । ‘म्युजिक भिडियो खेल्नुपरेपनि बाबुआमा सम्झन्छु, उहाँहरूकै सल्लाहमा खेल्ने गर्छु ।’ उनले भनिन् ।
६–७ वर्षको हुँदादेखि नै नृत्य गर्न र गीत गाउन खप्पिस उनी अहिले आएर आफूमा केही ‘कन्फिडेन्स’ पनि बढेको बताउँछिन् । ‘म बच्चादेखि डान्स र गीत गाउन भनेपछि हुरूक्कै हुन्थे रे, यसमा रूची साथै लगाव पनि थियो, डान्स र गीत गाउँदै जाँदा विस्तारै कलाकारिता क्षेत्रका व्यक्तित्वहरूसँग चिनजान भयो र अहिले म्युजिक भिडियो र गीत–सङ्गीतमै करिअर अघि बढाइरहेको छु ।’
उनले आफू यस्तो कार्यबाट पूर्ण सन्तुष्ट बताइन् । ‘अहिले आएर धेरै कुरा बुझ्दै गएको छु’, उनले भनिन्, ‘समयले नै सिकाउँदो रहेछ तर पनि म आफ्नो कामबाट सन्तुष्ट छु ।’ मिहिनेतकै कारण आफू यो स्थानमा आउन सफल भएको उनी बताउँछिन् । ‘मिहिनेत गर्ने हो भने यहाँ पनि प्रशस्त सम्भावना छन्,’ उनले भनिन्, ‘जुनसुकै क्षेत्रमा पनि मिहिनेतपूर्वक लाग्ने हो भने केही गर्न सकिन्छ ।’ हाल उनी जापानिज भाषा सिकेर जापानिज भाषाकै अध्यापक पनि हुन् । धरानको एक इन्स्टिच्युटमा उनी जापानिज भाषा पनि अध्यापन गराउँदै आएकी छिन् ।
तस्वीर फाइलः लक्ष्मण थापा

प्रकाशित मिति: कार्तिक २१ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend