विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पौने ३ बजेको समयमा उर्लाबारी–९ मा रहेको मावाखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ वर्षीय विनोद परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
यसैगरी मोरङकै पथरीशनिश्चरे–८ शुक्रबारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधुनी–८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजेको समयमा पथरीशनिश्चरे–८ का राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारको लागि मोरङ अस्पताल पथरी पठाइएकोमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।