धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सा आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए ।
बुधबार बिहान काठमाडौंबाट किमाथाङ्का पुगेका ओली नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट किमाथांकादेखि मकालु गाउँपालिका–५ फाक्सिन्दास्थित अरुण तेस्रो विद्युत् आयोजनाको ड्याम साइटमा पुगेका हुन् ।
प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, राष्ट्रिय सभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतम, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रलगायत पनि सहभागी छन् ।