धरान (एजेन्सी) बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने कारहरुको बिक्री बन्द हुने भएको छ ।
बिबिसीका अनुसार जलवायु परिर्वतनको सामना गर्न र परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ रोजगारी सिर्जना गर्ने योजनाअनुसार बेलायत सरकारले यो निर्णय गरेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ भनेका छन् । यसको औपचारिक घोषणा बुधबार गरिँदैछ ।
सरकारको सो निर्णयको वातावरणवादीहरुले स्वागत गरेका छन् । डिजेल तथा पेट्रोल कारको बिक्री बन्द गर्ने योजना जलवायु परिर्वतनसँग लड्नका लागि एक ऐतिहासिक मोड हुने उनीहरुको दावी छ । बेलायत सरकारका अनुसार यो योजनाले सन् २०५० सम्म देशको कार्बन उत्सर्जन समाप्तिको लक्ष्य हासिल गर्न मद्दत मिल्ने छ ।