सोलुखुम्बुः सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ मा सोनाम शेर्पाले सञ्चालन गरेको यती माउन्टेन होम होटलमा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ ।
२ तले पक्की घरमा सञ्चालमा रहेको सो होटलमा आइतबार बिहान ९ बजे विद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भई सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सो आगलागी इलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो २ बजे नियन्त्रणमा आएको तथा मानवीय क्षति नभएको सो कार्यालयले जनाएको छ । आगो स्थानीय, नेपाली सेना र प्रहरीको सक्रियतामा करिब ५ घण्टापछि नियन्त्रणमा आएको थियो । सो होटल यति ग्रुपमार्फत १२ वर्षदेखि ल्हाक्पा सोनामले सञ्चालन गर्दै आएको बताइएको छ ।