ताप्लेजुङः प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेर घुन्सा फाउण्डेसनले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरेका छन् । उनी हेलिकोप्टरमार्फत् हिमाली जिल्ला घुन्सा समेत पुगेका छन् ।
फक्तालुङ गाउँपालिकाको वडा नं ६ लेलेपको दुर्गम स्थान घुन्सामा सोमबार आयोजित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उनले सरकारले लोकप्रिय काम गरेको देखिनसहनेले राजीनामा माग्दै आएको बताए । उनले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न पनि आग्रह गरे ।

‘सरकारको लोकिप्रयता देखिनसहनेले नै बढीजसो राजीनामा माग्दै आएका छन्’, उनले भने, ‘तर सरकार कहिल्यै परिवर्तन हुँदैन ।’ प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा काम गरिरहने पनि बताए । ‘सरकार जनताको पक्षमा निरन्तर र अडिग ढङ्गले अघि बढिरहेको छ, शंका उपशंका गर्नुको कुनै तुक छैन ।’ उनले भने ।
घुन्सावासीले ओलीलाई भव्य स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।
प्रधानमन्त्री ओलीले उत्तरी चीनसँगको सीमा नाका ओलाङ्चुङगोला र त्यहाँ केही समयअघि स्थापना गरिएको बोर्डर आउट पोष्ट (बिओपी) को हवाई निरीक्षण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष एभेङ र घुन्सालीकातर्फबाट स्थानीय अगुवा हिमाली चुङ्दाक शेर्पाले मागपत्र पनि बुझाएका थिए । घुन्सालाई नमूना गाउँका रुपमा विकास गर्न यहाँका बासिन्दाले माग गरेका छन् । प्रधानमन्त्री आएपछि यहाँ विकासले गति लिने र पर्यटन प्रवद्र्धन हुनेमा स्थानीय आशावादी छन् । ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन पनि गरेका थिए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो । स्थानीयवासीले प्रधानमन्त्रीसमक्ष मागपत्र पेश गर्दै पर्यटन प्रवद्र्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युतको क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिइएकी छिन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी थिइन् ।
घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । उनी हेलिकोप्टरमार्फत् नै पुगेर आजै इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
