Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यसरी शुरु भयो कक्षा-१२ को परीक्षा

हाम्रो कोशी आवाज
मंसिर ९ २०७७, मंगलबार
धरानमा यसरी शुरु भयो कक्षा-१२ को परीक्षा

धरानः परीक्षा होला कि नहोला भन्ने दोधार हुँदै र विभिन्न टिकाटिप्पणी भइरहेता पनि परीक्षा शुरु भएको छ । धरानमा आवश्यक सतर्कता अपनाउँदै कक्षा–१२ को परीक्षा शुरु भएको हो ।
कोरोना महामारीका कारण वैशाखमा स्थगित भएको परीक्षा मङ्गलबारबाट शुरु भएको हो । परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । प्रत्येक कोठामा २० जनाका दरले विद्यार्थी उपस्थित हुनेछन् ।
धरानमा परीक्षार्थी, केन्द्राध्यक्ष र निरीक्षक सबै मास्कमा उपस्थित थिए । विद्यार्थीलाई ज्वरो नाप्दै, सेनिटाइजर प्रयोग गराउँदै परीक्षा हलभित्र प्रवेश गर्न दिइएको थियो ।
परीक्षा मंसिर १६ गते सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका चार लाख ३२ हजार पाँच सय विद्यार्थीहरु सहभागी हुने जनाएको छ । ४० पूर्णाङ्कको परीक्षा डेढघण्टाको हो । थप ४० प्रतिशत अंक कक्षा–११ को र २० प्रतिशत अंक कक्षा–१२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डले जनाएको छ । ढुक्कसँग परीक्षामा सहभागी हुन बोर्डले परीक्षार्थीलाई आग्रह गरेको छ ।
भनेकै समयमा भएन परीक्षा
बिहान ८ बजेबाट परीक्षा शुरु हुने भनिएपनि धरानमा ठीक ८ बजेदेखि नै शुरु हुन सकेन । कारण हो–प्रश्नपत्र आउनमा ढिलाइ । धरानमा प्रश्नपत्र मेल गर्नमा ढिलाइ भएको छ । मेल आउन ढिलाइ हुँदा विद्यार्थीले मर्कामा परेको गुनासो गरेका छन् । कतिपय विद्यालयमा ८ बजे शुरु हुने भनिएको परीक्षा ९ बजे पनि शुुरु हुन सकेको थिएन । प्रश्नपत्र ढिलो आउँदा र फोटोकपी गर्दा धेरै समय लागेको थियो । विद्यार्थी प्रश्नपत्र ढिलो आउँदा परीक्षा हलमा पसेर रुँगेर बस्न बाध्य बनेका थिए । ‘रुँगेर बस्नुपर्दा साह्रै नमज्जा र हैरानी व्यहोरियो’, एक विद्यार्थीले भने, ‘समयमै पठाइदिएको भए चाँडै परीक्षा सकेर जाने थियौं ।’
‘पहिलो दिन नै प्रश्नपत्र आउन ढिलाइ भयो, यसले विद्यार्थी मर्कामा परे’, धरानका एक अध्यापक भन्छन्, ‘अभिभावकमा समेत नराम्रो सन्देश पुग्ने भयो भने विद्यार्थीमा पनि भोलिदेखि पनि यही समयमा आएर परीक्षा दिँदा हुन्छ भन्ने मानसिकताको विकास हुने पो हो कि भन्ने चिन्ता थपिएको छ तर पनि अन्य समय समयमै परीक्षा हुन्छ ।’
धरानको नमूना सरकारी विद्यालय पब्लिक हाइस्कुल, धरानकै निजी कलेज एम्स एकेडेमी र युएन नवोदय कलेजका विद्यार्थीहरु परीक्षा दिन प्रवेश गर्दै । तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: मंसिर ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend