भोजपुरः भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्वीर भाइरल भयो । कतिले सो तस्वीरलाई बनावटी पनि भने । तर यो सत्य हो ।
खार्तम्छा निवासी ७७ वर्षीय राईलाई परालमा सुताएर स्लाइन पानी दिइएको झुटो होइन साँचो हो । उनी दशैंअगाडिदेखि बिरामी थिए । उनको घरमा उपचारका लागि ओछ्याउने एउटा तन्ना पनि छैन । मङ्सिरको जाडोमा उनी सुत्ने ठाउँमा पराल बाहेक केही थिएन ।
उनी सामान्य खालको खास्टोको भरमा रात कटाउन विवश छन् । परालमै राखेर स्लाइन पानी दिएर उपचार गरेका राईको श्रीमतीको केही वर्ष पहिले नै मृत्यु भइसकेको छ । अहिले उनको एक मात्र छोरा छन् सुस्त मनस्थिति अवस्थाका । ७७ वर्षीय राई बस्ने सामान्य कटेरो मात्रै छ ।
जीर्ण घरमा बस्दै ७७ वर्षीय राईलाई षडानन्द नगरपालिकाले नयाँ बनाइदिने भएको छ । यो तस्वीर बाहिरिएपछि नगरले चासो दिएको छ । उनलाई नगरले चाँडै निःशुल्क घरको पनि ब्यवस्था गरेर नयाँ घरमा सार्ने षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राईले जानकारी दिइन् ।
सामाजिक सञ्जालमा ७७ वर्षीय वृद्ध राईको परालमा राखेर स्लाइन पानी दिइरहेको फोटो देखेपछि अवस्था बुझ्न षडानन्द नगरपालिकाका मेयर बीरवल राई र उपमेयर मेरिका खार्तम्छा पुगेका थिए । ‘सामाजिक सञ्जालमा पराल माथि राखेर स्लाइन पानी दिइरहेको फोटो बनावटी नभइ वास्तविक फोटो हो,’ उपमेयर राईले भनिन् ।