धरानः धरानमा आज (आइतबार) देखि स्कुल खुल्ने भनिएपनि नखुल्ने भएको छ ।
विशेषतः धरानका निजी स्कुलहरु खुल्ने भनेपनि अहिले तत्कालका लागि नखुल्ने भएको एसिसी धरानका अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए ।
आइतबारदेखि कक्षा–१० सम्म हुने स्कुलले कक्षा–८, ९, १० मा पठनपाठन सञ्चालन गर्ने र कक्षा–५ सम्म हुने स्कुलले कक्षा–४ र ५ मा पठनपाठन गर्ने जनाइएको थियो ।
शनिबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, शिक्षा महाशाखा, एन प्याब्सन, प्याब्सनका प्रतिनिधिहरू र एसिसी धरान लगायतको उपस्थितिमा कोरोना महामारीबीचमा विद्यालय सञ्चालन गर्दा सामूहिकरुपमा जवाफदेहिता हुने गरी निर्णय गरेर मात्रै स्कुल खोलिने जनाइएको छ ।
‘सामूहिक जवाफदेहिताका साथ सबै पक्षसँग छलफल गरेर मात्रै निर्णयपछि स्कुल खोल्ने निर्णय भएको छ’, शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले भने ।
एसिसी धरानका अध्यक्ष राजेन्द्र गुरुङ आफूहरु निर्णयको पर्खाइमा रहेको जानकारी दिए । ‘धरान उपमहानगरपालिकाले कुन मोडलमा स्कुल सञ्चालन गर्ने हो भनेर प्रस्ताव मागेको थियो’, एसिसी अध्यक्ष राजेन्द्र गुरुङले भने, ‘त्यही प्रस्ताव बुझाएका छौं, स्कुल सञ्चालन पनि गर्न सकिन्थ्यो तर छलफल गरेर सामूहिक निर्णय गर्ने कुरा भएको छ, मेयर सा’बले ३–४ दिनमा सामूहिक निर्णय गरेर विद्यालय खोलौं भन्नुभएको छ, त्यही निर्णय पर्खिरहेका छौं, निर्णय आउन ३–४ दिन पनि नलाग्ला ।’