धरानः धरानकै कुरा गर्ने हो भने जन्मदिन मनाउने प्रचलन व्याप्त छ । कोही होटलमा पार्टी दिएर जन्मदिन मनाउँछन् भने कोही घरमै पनि पार्टी दिँदै पनि जन्मदिन मनाउँछन् ।
फजुल खर्च नगरौं, सहयोग गरौं भन्ने भावना राखेर धरानका एक व्यक्तिले जन्मदिन असहाय बालबालिकासँग मनाएका छन् ।
धरान–१९ निवासी समाजसेवी सन्त तेम्बेले जन्मदिन धरान–१३ स्थित अल्फानिज होम केयर सेन्टरमा मनाएका हुन् । जहाँ १७ जना बालबालिका आश्रित छन् । बाबुआमाले छोडेका, बाबुआमा नभएका, वेवारिसेपछि संरक्षण गरिएका लगायतका बालबालिका त्यहाँ आश्रित छन् ।
नेकपा धरानका सदस्य समेत रहेका उनले केक पनि बालिबालिकालाई नै काटेर खुवाए । उनले त्यहाँ आश्रित बालबालिकाका लागि नगद १० हजार रुपैयाँ सहयोग पनि प्रदान गरेका थिए । नेकपा धरानका इन्चार्ज अइन्द्रविक्रम बेघा, नेकपाकी सविना बेघा खनाललगायतको उपस्थितिमा उनले सो रकम प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै धरान इन्चार्ज बेघाले सामाजिक कार्यमा सरिक हुँदै जन्मदिन मनाउनु खुशीको कुरा भएको बताउँदै यसरी जन्मदिन मनाउँदा असहाय, दिनदुःखीको केही उद्दार हुने बताए । उनले रक्सी र बियरको चुस्कीमा जन्मदिन मनाउनुभन्दा यस्तो कार्यक्रम फलदायी रहेको बताए ।
कार्यक्रममा बोल्दै तेम्बेले वर्षेनी यस्तै समाजमा हित हुने र फाइदा पुग्ने तवरले काम गर्दै जन्मदिन मनाउन पाउँदा आत्मसन्तुष्टि मिल्ने धारणा राखे ।
यसअघि उनले जन्मदिनमै धरानस्थित अपाङ्ग पुनस्थापना केन्द्र र धरान–३ स्थित सरस्वती बाल आश्रममा मनाएका थिए । त्यतिबेला उनले बिहान बेलुकाका खाना मात्रै खुवाएनन् केक पनि सोही स्थानमा काटेर खुवाएका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज






अघिल्लो वर्ष जन्मदिन मनाउँदै तेम्बे । तस्वीर, भिडियो फाइलः हाम्रो कोशी आवाज
