धरानः धरान-१३ मा संरक्षित बालबालिकालाई अहिले जाडोमा कठ्याङ्ग्रीँदै बस्नुपर्ने बाध्यता रहेको छ ।
चिसोबाट बच्ने भरपर्दो लत्ताकपडा, जुत्ता-मोजा समेत नहुँदा उनीहरु कठ्याङ्ग्रीँदै दिनरात काट्नपर्ने बाध्यता रहेको हो । धरान-१३ स्थित ‘इमानुएल अफर्नेज होम’ मा आश्रित १६ जना बालबालिकाहरु यसरी जीवन गुजार्दै आएका हुन् ।
बाबुआमाले छोडेका, बाबुआमा पत्तो नलागेको, बाबुको मृत्युपछि आमा अर्कैसँग हिँडेकोलगायत अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको सञ्चालक जीवन लिम्बू बताउँछन् । उनले जाडोका भरपर्दो कपडा नहुँदा अहिले थप समस्या थपिएको बताए । ‘साँच्चै भन्ने हो भने अहिले यहाँ लगाउने बाक्लो लुगा र ओढ्ने, ओच्छ्याउने अभाव छ’, उनले भने, ‘कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने आशामा छौं ।’
जाडोका कारण खासगरी यी बालबालिका बढी प्रभावित छन् । ‘अब जाडोकै कारण भनेजस्तो लुगा लगाउन नपाउँदा बिरामी होलान् भन्ने चिन्ता थपिएको छ’, उनले भने । संस्थाले न्यानो लुगा, उचित भोजन र स्वास्थ्यबारे अहिलेसम्म धान्न हम्मेहम्मे पर्ने गरेको उनले जानकारी दिए ।
यस्तै, यहाँका बालबालिकाको जुत्ता छैन । जुत्ता नहुँदा जाडोमा खालीखुट्टा नै बस्छन् । ‘अधिकांश बालबालिका विद्यालय जाने उमेरका छन् तर जुत्ता लत्ताकपडा किन्दिने पैसा नहुँदा काप्दै खालीखुट्टा बस्नुपर्ने बाध्यता छ,’ उनी भन्छन् ।
उनले अहिले अन्यले दिएकै सहयोगको भरमा बालबालिकाको पालनपोषण हुँदै आएको बताउँदै भने, ‘कोरोना कहरका कारण थप मुस्किल भएको कारणले केटाकेटीलाई कपडा समेत किन्न सकेको छैन ।’ उनले सहयोगी मन हुनेले ९८०४०५५३२३ मा सम्पर्क गर्न सकिने बताए । तस्वीरः हाम्रो कोशी आवाज
