धरानः सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।
गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।
नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
विशेषगरी २०७२ को भूकम्पपछि यसको उचाइ घटबढ भएको हुनसक्ने अनुमानका बीच नयाँ उचाइ सार्वजनिक गरिएको हो। विश्वकै अग्लो शिखरका रुपमा परिचित सगरमाथामा सन् १९५३ यता विभिन्न कीर्तिमानहरु बनेका छन्।
समुद्री सतहबाट ८ हजार ८ सय ४८.८६ मिटर उचाइमा रहेको सगरमाथाको शिखरमा पहिलोपटक पुग्ने कीर्तिमान नेपालकै तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीको नाममा छ।
नेपालको सोलुखुम्बु जिल्लामा रहेको सगरमाथामा सन् १९५३ को वसन्त ऋतुमा उनीहरुले सफल रुपमा पहिलो आरोहण गरेका थिए ।
त्यसअघि सन् १९२२ मा ७ जना शेर्पा आरोही हिमाल आरोहणका रुपमा आभलन्च (हिम पहिरो)का कारण मृत्यु हुँदा सगरमाथा शिखर चुम्न नसकेको बताइन्छ ।
शेर्पा र हिलारीले दक्षिण पूर्वी भागबाट पहिलोपटक हिमाल आरोहण गरेका थिए ।
त्यसपछि सन् १९७५ मे मा जापानकी जुनको तावेईले सफल आरोहण गरी सगरमाथा चढ्ने विश्वकै पहिलो महिलाको कीर्तिमान बनाइन् भने सन् १९९३ अप्रिलमा नेपाली महिला पासाङलामु शेर्पाले सगरमाथाको शिखर चुम्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाइन्।
तर सगरमाथा आरोहण गरी फर्किँदै गर्दा दुर्घटनावश उनको ज्यान गएको थियो। त्यसपछि सन् २००० लाक्पा शेर्पा (दोस्रो नेपाली महिला)ले सगरमाथा आरोहण गरेकी हुन्।
