धरानः लोकपप तथा मेलोडियस गीत–संगीतको लागि ९० को दशकदेखि अझ पनि उत्तिकै लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा अहिले पनि आफूलाई नयाँ–नयाँ गीत–संगीत पस्कनमा उत्तिकै सक्रिय छ ।
यही क्रममा कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई आफ्नो स्वरमा पस्केका छन् ।
कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ हाल अस्ट्रेलियामा कार्यरत रहेपनि उनी आफ्ना नेपालमा रहेका सहकर्मीहरुसँग उत्तिकै नजिक छन् र यही नजिकपनलाई आफ्ना स्रोता– दर्शकहरुमाझ आत्मियता बनाउन उनी आफ्नो ब्याण्डसँग कुनैपनि स्टेज शो होस् या गीत रेकर्ड कै बेला किन नहोस् उनी नेपाल आइहाल्छन् ।

गत केही वर्षअघि मात्र उनले आफ्नो ब्याण्डसँग धरान, दमक, बुटवल, बिर्तामोड, पोखरालगायतका विभिन्न शहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने अस्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्याण्डका सदस्यहरुलाई अस्ट्रेलिया लाँदै थिए तर सोही समयको कोरोनाको महामारीको कारणले सो कार्यक्रम नै हुन पाएन । अब भने पुन कन्दरा ब्याण्डलाई सक्रिय बनाउन आफ्ना ब्याण्ड सदस्यहरुसित लागिपरेका छन् ब्यान्डका गायक विवेक श्रेष्ठ ।
स्वरसम्राट नारायण गोपालको ३० औं पुण्यस्मृतिको अवसरमा स्वरसम्राट नारायण गोपालको शब्द र संगीत र हरिभक्त कटवालको रचना रहेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई नेपालमा रहेका आफ्ना ब्याण्ड सदस्यहरु सुनिल थापा, अमित गुरुङ, अनिल गुरुङ, अशिम शेरचन, बुद्धराज बज्राचार्य र अविनाश गायकको साथ आफ्नो आफ्नो ठाउँमै रहेर भिडियो समेत निर्माण गरेका छन् ।
स्वर सम्राटको अजम्बरी गीतलाई गाउने प्रयास गरेको र यसलाई आफ्ना गीतहरुझैं श्रोताहरुले मन पराइदिनुहुने आशा कन्दरा ब्यान्डका सम्पूर्ण सदस्यहरुले गरेका छन् ।
विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली गीत–संगीतको लागि आफ्नो ब्याण्ड कन्दरामार्फत् निरन्तर लागिरहने प्रण गरेका ब्याण्ड सदस्य तथा गायक विवेक कोरोना महामारीको अन्त्यसँगै फेरि पनि नेपालका कुना–कन्दरामा आफ्ना मेलोडियस गीत–संगीत पस्किन आउने बताउँछन् ।