पाँचथरः पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु भएको छ भने युवती सख्त घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्वर विश्वकर्माका अनुसार बुधबार मध्यराति यस्तो दुर्घटना भएको हो । मे४प ८९४ नम्बरको मोटरसाइकलमा पाँचथरको हिलिङ–१ बस्ने २४ वर्षीय प्रविन कालिकोटे र सो सवारीको पछाडि २० वर्षीया युवती मुना पाख्रिन सवार थिए । उनीहरू बिहीबार मात्रै फेला परेका थिए । सो मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीले घटनास्थलमा फेला परेका दुवै अचेत अवस्थाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल फिदिम ल्याएका थिए । अस्पताल ल्याइएकामध्ये कालिकोटेलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए भने पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । सो मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।