धरानः नेपालले २०२२ मा कतारमा हुने विश्वकफ फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ ।
समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्कसहित चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । नेपालले कुवेतसित दुई खेल तथा जोर्डन र अष्ट्रेलियासित एक एक खेल हारेको थियो । चाइनिज ताइपेई अङ्कविहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौँ स्थानमा छ ।
विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ । बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ ।