धरानः नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमूना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ ।
धरानका अजेन लिम्बूले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियरर्स अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता जितेको हो । युकेमा रहेका नेपाली युवाले बनाएको सो डिजाइनले विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै पुरस्कार जितेको हो ।
पूर्व ब्रिटिस गोर्खा सैनिक बुबा तेजकुमार थक्लुङ लिम्बू र आमा कमला सेन्दाङ लिम्बूसँगै पाँच वर्षको उमेर हुँदा बेलायत पुगेका उनले धरानकै अरनिको स्कूलमा प्राथमिक तहमा पढेका थिए ।
‘यो प्रतियोगिताले अन्तरिक्ष इञ्जिनियरिङको अद्भूत रहस्य नजिक पुग्न एकदमै उत्साहजनक अवसर दिएको छ,’ पुरस्कार जितेपछि लिम्बूले प्रतिक्रिया दिँदै भने ।
बेलायतको प्लाइमोथ विश्वविद्यालयमा सिभिल इञ्जिनियरिङको मास्टर्स तहको अन्तिम वर्षमा अध्ययनरत हुँदा २५ वर्षीय अजेन लिम्बू र उनको समूहले बनाएको डिजाइन उत्कृष्ट भएको विश्वविद्यालयले आफ्नो वेभसाइटमार्फत जनाएको छ ।
‘आवेदकहरूलाई शून्य गुरुत्वाकर्षणको उपस्थितिमा सौर्यमण्डलको ग्रहहरूको अन्वेषण गर्न सहज हुने गरी अन्तरिक्ष केन्द्र निर्माणका लागि संरचनाको नमुना तयार गर्न भनेका थियौँ,’ वेभसाइटमा सूचना तथा सञ्चार अधिकृत एलन विलियम्सले लेखेका छन्, ‘प्लाइमोथका तीन विद्यार्थीहरूले नासा र जापानिज एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीको सामग्री प्रयोग गरेर वायुयाणको निर्माणमा विस्तृत खोज गरेका छन् ।’ सेल्सबरीनिवासी लिम्बूले नेतृत्व गरेको समूहमा एलियट ट्याम र ज्याक ओर्मे पनि संलग्न रहेका थिए ।