विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–५ भौसावारीबाट सोमबार राति पौने ७ बजे लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन् ।
सो स्थानमा लागूऔषध ब्राउसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–५ का १९ वर्षीय मुस्कान धिमाल, १९ वर्षीय बिक्रम मगर, २२ वर्षीय पञ्चन साह, कानेपोखरी–२ का २४ वर्षीय राजेश धिमाल र लेटाङ–३ का २३ वर्षीय शान्तिराम काफ्ले रहेका छन् ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–१६ दरैया बस्तीबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धनकुटा घर भई पथरीशनिश्चरे नगरपालिका–९ बस्ने २५ वर्षीय धनबहादुर रानालाई लागूऔषध नाइट्राभेट ३०० ट्याब्लेटसहित सोमबार साँझ सवा ६ बजे पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
यस्तै, उदयपुरमा बन्दुकको गोली र ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन् । ४५ ग्राम ३६ मिलीग्राम ब्राउनसुगर र राइफलको गोलीसहित ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षीय सुमन बस्नेत र त्रियुगा–१२ बस्ने २५ वर्षीया पार्वती मगर रहेका छन् । बस्नेतलाई स११प ६५९६ नम्बरको स्कुटरसहित गाईघाटको सदरमुकाम मेनचोकमा २० मिलीग्राम ब्राउन सुगर र ९ हजार ६ सय २० रुपैया सहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पार्वतीको डेरा बस्ने कोठाबाट २० ग्राम ३४ मिलीग्राम ब्राउन सुगर र ५७ हजार ८ सय रुपैयाँ बरामद भएको एसपी भीमबहादुर दाहालले जानकारी दिए ।
यस्तै, ब्राउन सुगर कारोबारको आरोपमा त्रियुगा–१३ बरुवा खोलाबाट १६ ग्राम ३७ मिलीग्राम लागूऔषध ब्राउन सुगर र स१०प ९७३३ नम्बरको मोटरसाइकलसहित त्रियुगा–११ कै ३२ वर्षीय नसिब राईलाई आइतबार पक्राउ गरिएको छ ।
यस्तै, त्रियुगा–११ कै २२ वर्षीय भिमकुमार चौधरीको साथबाट ५ ग्राम २५ मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो । त्रियुगा–२ लुहाले खोला किनाराबाट ब्राउन सुगरसहित सोही वडाका ३१ वर्षीय रेवत कुमार खाती, त्रियुगा–३ का ३४ वर्षीय रोहितकुमार चौधरी, ३३ वर्षीय जगसन राई, ३८ वर्षीय पर्वत दाहाल र त्रियुगा–४ का ३२ वर्षीय देवेन्द्र मगर पक्राउ परेका छन् ।
उनीहरुको साथबाट ३ ग्राम ब्राउन सुगर, ब्राउन सुगर ओसारपोसार गर्न प्रयोग गरेको स९प ७३३२ र स९प २३३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको ४५ ग्राम ३६ मिलीग्राम ब्राउन सुगरबाट अन्दाजी ३ सय २२ डोज हुने एसपी दाहालले जानकारी दिए ।