विराटनगरः सुनसरीको कोशी गाउँपालिका–४ का १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
सोमबार राति साढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–१० मा बिहान १ बजे भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को२च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाउँपालिका–८ मोरङका ४६ वर्षीय भोजराज आचार्यलाई ठक्कर दिँदा घाइते भएका आचार्यको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।