Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा आगलागीको कारण खुलेन, रेडपाण्डाको बासस्थान डढेलोले खरानी

हाम्रो कोशी आवाज
पुष १५ २०७७, बुधबार
ताप्लेजुङमा आगलागीको कारण खुलेन, रेडपाण्डाको बासस्थान डढेलोले खरानी

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको रेडपाण्डाको चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि संकटमा परेको छ ।
६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आकलन गर्न नसकिने शेर्पाले बताए । आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जंगल र सिकैचा क्षेत्रको जंगलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।
हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताए । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जंगलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए ।
काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । सोमबार हेलिकोप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन ।
गत बिहीबारदेखि फुङलिङ नगरपालिका-११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति: पुष १५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend