धरानः श्री दीपेन्द्र आधारभूत विद्यालय धरान–१७ फोक्ल्याण्ड टापुमा लायन्स क्लब अफ धरान विजयपुर तथा लियो क्लब अफ धरान विजयपुरको आयोजनामा छात्रवृत्ति तथा वाटर फिल्टर प्रदान गरिएको छ ।
कोशीटप्पु आसपासको क्षेत्रबाट विस्थापित भई फोक्ल्याण्ड टापुमा सानो बाँसको टहराबाट शुरु गरिएको स्कुलको विभिन्न सहयोगबाट अहिले दुई तले भवन बनिसकेको छ । त्यहाँ अहिले विद्यार्थीका लागि वाटर फिल्टरको आवश्यक पर्ने भएकोले फिल्टर प्रदान गरिएको हो ।
क्लबका भुपु अध्यक्ष लायन रामहरि हाडाको परिवारले आफ्नो आमा स्व. महालक्ष्मी हाडा र बुबा स्व. सेतबहादुर हाडाको सम्झनामा करिब २७ हजार रुपैयाँको लगानीमा सो वाटर फिल्टर जडान गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका कक्षा–१ का पेमा तामाङ र कक्षा–७ का अलिसा घिमिरेलाई स्कुल जाँदा आवश्यक पर्ने सम्पूर्ण सामान प्रत्येक वर्ष दिँदै कक्षा–१० सम्म पढाउने प्रतिबद्धतासहित १०–१० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको थियो ।
छात्रवृत्ति अस्ट्रेलियामा बस्ने मेलिना गुरुङ र आर्याना गुरुङले दिएका थिए । सबै विद्यार्थी विद्यालय पुगुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक लायन टंककुमारी गुरुङले जानकारी दिइन् ।
डिष्ट्रिक चिफ लायन धिरज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम लायन्स क्लब अफ धरान विजयपुरका अध्यक्ष लायन कविरभगत प्रधानाङगको ब्यवस्थापन तथा अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सल्लाहकार विपीन सुब्बा, लायन गौरीशंकर अग्रवाल, डिष्टिक चिफ लायन शान्ति श्रेष्ठ, टिम एरिया लिडर लायन रेखा गुरुङ, सल्लाहकार लायन बलराम मानन्धर, माया लिम्बू, जोन चेयर पर्सन लायन सुजाता श्रेष्ठ, क्लब सदस्य तथा धरान–१८ वडा सदस्य जमुना मोक्तान तथा स्कुल ब्यवस्थापक अध्यक्ष मिना लावती, प्रधानाध्यापक पर्वत सञ्जेल तथा स्कुल ब्यवस्थापन सदस्य तथा निउ लाइफ चर्चका पास्टर मेहेरमान हयुजलगायतको उपस्थिति रहेको थियो ।


