दमकः झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र एम्पुलसहित तीजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राजकुमार गनगाईलाई ३६ ग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित बिहीबार साँझ ६ बजे दमक नगरपालिका–८ बाट पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–२ का ३१ वर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपामसहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका तीनैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।