विराटनगरः मोरङको लेटाङमा बोलेरो खस्दा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते बनेका छन् ।
शुक्रबार बेलुका लेटाङ–१ अँधेरीको भित्री कच्ची सडकमा बोलेरो खसेको हो । लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को१ज ३२६२ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको बोलेरोमा मा सवार लेटाङ– १ कै ५९ वर्षीय नैनकुमार तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते बनेका तामाङको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५४ वर्षीय सञ्चुमाया राई गम्भीर घाइते भएकी छिन् । उनको विराट नर्सिङहोममा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
त्यस्तै, मनमाया मगर, जुनु लिम्बू, सनमाया मगर, अनिता तामाङ, दीपकबहादुर, अर्जुन तामाङ, अस्तिमा मगर, सन्देश राई, सृष्टि मगर, शेरबहादुर मगर, प्रज्वल राई, सुजाता मगर, सुन्दर राई, सरिमाया मगर, डिल्लीमाया मगर, घाइते भएका छन् ।