Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा घरमै बसीबसी कमाउने आमाछोरी

हाम्रो कोशी आवाज
माघ १० २०७७, शनिबार
धरानमा घरमै बसीबसी कमाउने आमाछोरी

क के इन्टरनेशनल स्कुलकी प्रतिभा

धरानः धरान–१५ स्थित के के इन्टरनेशनल स्कुलमा अध्ययनरत स्तुती पौडेल पढ्दै, कमाउँदै गर्नेमध्ये एक हुन् । उनी कक्षा–कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा उतार्ने प्रयास गर्नेमध्ये एक हुन् । ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छु,’ उनले भनिन्, ‘यसले पढेको कुरालाई व्यवहारमा लागू गर्न सहज हुनुका साथै व्यक्तिगत आम्दानी पनि भइरहेको छ ।’
उनी धरान–१० निवासी हुन् । पढाइमा अब्बल उनी अतिरिक्त क्रियाकलापमा पनि खप्पिस छिन् । बुबा केशव र आमा निषुम पौडेलकी छोरी उनी स्पिच दिन सक्छिन् । स्पिचमा बोलेरै उनले धेरै पुरस्कार जितिसकेकी छिन् । यस्तै, नृत्य, फुटबल र भलिबल पनि खेल्छिन् । नृत्यबाटै उनले पुरस्कार समेत जितिसकेकी छिन् ।
सानैदेखि मेरिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल पढेकी उनी सानैमा नृत्य गर्थिन् । इन्जिनियर बन्ने लक्ष्य लिएकी उनले सानैदेखि मोबाइलअगाडि राखेर नृत्य गर्थिन् । त्यतिबेला भिडियो पनि राम्रो बन्थ्यो । त्यसपछि बुबाआमाको साथ लिएर उनले स्तुति इन्टरटेण्टमेन्ट नामको युटयुब च्यानल खोलिन् ।
आफ्नो प्रतिभा त्यही च्यानलमार्फत् देखाउन थालिन् । अहिले युटयुबमा उनको प्रतिभा धेरैले राम्रो मानेका छन् । च्यानलमा उनले फेमिलीसँग च्यालेन्ज, नृत्य, भ्लग बनाउँछिन् । त्यहाँबाट केही पैसा समेत पाइसकेको उनले बताइन् ।
आमाले अझ बढी कमाउँदै
उनको आमा निषुमले अझ बढी कमाउँदै आएकी छिन् । उनले टिपिकल नेपाली खानाबारे जानकारी दिँदै कमाएको बताइन् । ‘मेरो नेपाली किचन’ नामक युटयुबबाट उनले कमाउँदै आएको बताइन् । नयाँ नयाँ खानेकुरा बनाएर कमाउँदै आएकी उनले आर्थिक आम्दानी गर्दै आएको बताइन् । उनको च्यानलमा अहिले ४ लाख ३३ हजार सस्क्राइब छ ।
उनले मासिक न्युनतम २० हजारदेखि ८० हजार रुपैयाँसम्म सो च्यानलबाट आम्दानी गर्दै आएको बताइन् । ‘मिहिनेत त खुब लाग्छ’, उनले भनिन्, ‘तर पनि मिहिनेतअनुसारको फल आउँछ ।’
अभिभावकको दायित्व
उनले नानीहरुलाई यही बन भनेर नहुने बताइन् । ‘के मा उनीहरुको प्रतिभा र रुचि छ, सोहीअनुसार अभिभावक अघि बढ्नुपर्छ’, उनले भनिन्, ‘त्यसपछि छोराछोरीले प्रगति गर्ने हुन् ।’ घरको वातावरण पनि राम्रो बनाइदिनुपर्ने उनको भनाइ छ । पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने उनले बताइन् । ‘पढ्ने टाइममा पढ्न दिने, खेल्ने टाइममा खेल्न दिने गर्नुपर्छ’, उनले भनिन्, ‘त्यसो गर्दा मात्रै छोराछोरीले सही बाटो लिन्छन् र आफ्नो प्रतिभा अगाडि बढाउँछन् ।’

हाम्रा सर !

रमेशचन्द्र घिमिरे

झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर
हातमा छडी घुमाउँदै आउनु भयो सर
दायाँ–बायाँ नफर्कनू, मुन्टो तल झार्नू
हिजो सार्न नभ्याएको पाठ आजै सार्नू
यति भन्दै कुर्ची तानी बस्ने खराखर
पढाउन अल्लि अल्छी मान्नु हुन्छ सर
हामीले आफै बुझ्ने भए शिक्षक चाहिन्थेन
घरमै बसी पढिन्थ्यो, स्कूल आइन्थेन
नबुझेको सोध्न पनि लाग्छ साह्रै डर
माया गर्न, मीठो बोल्न जान्नु हुन्न सर
“किताब–कापी छुटेको हो त्यै भएर ल्याइनँ
गृहकार्य धेरै थियो, गर्दै जाँदा भ्याइनँ
माफी माग्दा भन्नु हुन्छ, धेरै हल्ला नगर
चर्को डाँको लगाएर बोल्नु हुन्छ सर ।
मन फुकाई रमाई–रमाई बोल्न अनि हाँस्न
बेला मौका कथा सुन्न, गीत गाउन र नाच्न
पाएदेखि स्कुललाई नि ठान्नु हुन्थ्यो घर
यस्तो रहर कहिले पुग्ला भन्दिनुस् न
सरआमासँग पिरोली स्विटर मगाएँ
न्यानो स्विटर लाएर जाडो भगाएँ
मक्ख पर्दै ऊनीको टोपी लगाएँ
टोपी लाउन पाएर जाडो भगाएँ
ढुङग्रो फुकी भुङ्ग्रोमा आगो जगाएँ
एक्लै आगो तापेर जाडो भगाएँ
घाममा सिरक सुकाउन दाइलाई सघाएँ
तातो सिरक ओढेर जाडो भगाएँ
कठ्याङ्ग्रीएँ चिसाले आँसु बगाएँ
बाको काखमा बसेर जाडो भगाएँ ।

बाल कथा : जो बने देशका दक्ष जनशक्ति

भोला दुलाल

सानु मैचा कागती गाउँकी केटी हुन् । उनी अहिले कक्षा–७ मा पढ्दैछिन् । असाध्यै मिहिनेती सानु मैचा पढ्नमा खुब मन लगाउँछिन् । कक्षामा राम्रो चित्र कोर्ने, मकैका दाना जस्तै हार मिलेका अक्षर लेख्न सिपालु उनी सर–मिसको माया पाएर झन हौसिएकी थिइन् ।
पोहोर साल बाबु धनबहादुर मरेपछि उनी टुहुरी भइन् । अघिपछि सधैं हँसिलो अनुहार हुने सानु मैचा आज अलि फरक देखिन्छिन् । निन्याउरो र मलिन अनुहार लिएर विद्यालय आएकी सानुमैचालाई उनको मलिन अनुहारको बारेमा हेडसरले सोधपुछ गर्नुभयो ।
‘किन सानुमैचा ? तिमी एकदुई दिनदेखि बेखुसी देखिन्छेउनी ?’
हेडसरको प्रश्न भुइँमा खस्न नपाउँदै सानुमैचाको आँखाका डिलमा आँशु तर्कियो । हेडसरले फेरि खै गर्नुभयो ।
‘किन के भयो र ?’
सानुमैचा भक्कानिँदै भन्छिन्, ‘सर म पढ्न चाहन्छु । म पढेर देशको नाम उच्च बनाउन चाहन्छु । तर मेरो आमाले अब मेरो बिहे कक्षा–६ मा पढ्ने रामलाल श्रेष्ठसँग गरिदिने रे । गाउँभरी हल्ला छ । मेरो कक्षाका साथीहरू मेरो र रामलालको कुरालाई लिएर जिस्काउँछन् । सानुमैचाको कुरालाई लिएर हेडसरको मनपनि चसक्क भो ।
एकदिन शुक्रबारको दिन विद्यालयमा हुने अतिरिक्त क्रियाकलापपछि छुट्टी भो । विद्यार्थी भने घर गए । तर हेडसरले सानुमैचाको आमा र रामलालको बुबा–आमालाई स्कुलमा बोलाउनु भयो । ‘सानुमैचा र रामलाल दुवै नाबालक हुन् । उनीहरुको विवाह गर्ने उमेर पुगेको छैन । उनीहरु असल विद्यार्थी हुन् । भविष्यमा उनीहरुले राम्रो गर्न सक्छन् ।
त्यसकारण उनीहरुको विवाह होइन उचित शिक्षादीक्षामा ध्यान दिनु होला । हुनपनि कागती गाउँमा सानैमा विवाह गरिदिने चलन पुरानै हो । घर धान्न र बाबुआमाको बोझको रूपमा रहेको छोरीको बिहे गरिदिन पाए आङ हलुको हुने सोचाइ थियोे । सानुमैचा र रामलालका बाबुआमालाई त छोराछोरीको बिहेको चिन्ता नहुने कुरै भएन ।
हेडसरले कागती गाउँका बालबालिका उमेर नपुग्दै विवाह गरेर विभिन्न स्वास्थ समस्याले ग्रसित भएको र सामाजिक बेथिति रहेको कुरामा जानकार थिए । उनले सानुमैचा र रामलालको बाबुआमालाई राम्ररी सम्झाएपछि दुवैपक्ष सानुमैचा र रामलालको पढाइ अगाडि बढाउन सहमत हुन्छन् ।
अहिले सानुमैचा नर्सिङ पेशा सम्हालेर गाउँमा नै सेवारत छिन् । उता रामलाल गाउँमा शिक्षण पेशामा संलग्न छ । उनीहरुको विवाह भयो भएन त्यो थाहा छैन । तर हेडसरको बेलैको सम्झाइबुझाइले सानुमैचा र रामलाल देशकै दक्ष जनशक्ति भएर उदाहरण बने ।

अभिषेक थापा, सुनगाभा इङ्लिस बोर्डिङ स्कुल, धरान–१३

शेरेः साउजी सलाइ दिनुहोस् न ।
साउजीले लाइटर दिन्छ ।
शेरेः (रिसाएर एक झापड हान्दै) लाइटरले कसैले कान कोट्याउँछ ?

बुढो लामखुट्टेः बाबु हाम्रो पालामा रगत चुस्न अहिले जस्तो सजिलो थिएन ।
नातिः किन हजुरबा?
बुढो लामखुट्टेः ऊ बेला केटीहरु पुरै कपडा लगाउँथे ।

पत्नीः मेरो जन्म दिवसमा चेन उपहार दिनुपर्छ नि, सुन्नुभो ?
पतिः किन नसुन्नुनी, कति सुनें कति । बरु भनन के को चेन दिउ मोटरसाइकल को कि साइकलको ?

कुशलः के तपाईँकोमा कलर टि.भी. छ ?
पसलेः छ ।
कुशलः मलाई रातो टि.भी. दिनु त ।

बुढीः यो केहो ?
शेरेः यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ, चिसो चिज राखे चिसै रहन्छ ।
बुढीः यसमा के ल्याउनु भा छ त ?
शेरेः दुइ कप चिया र एउटा कोकाकोला ।

काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामाकरण गरेको छ ?
उत्तरः नुर सुल्तान
‘चराई मिलन पर्व’ कुन समुदायमा प्रचलित पर्व हो ?
उत्तरः पश्चिम नेपालमा बस्ने राना थारु समुदाय
‘चिरै भजहर पर्व’ कुन जातिसँग सम्बन्धित रहेको छ ?
उत्तरः थारु
‘जितलाई जसले पनि आत्मसात गर्न सक्छ भने हारलाई बहादुरले मात्र पचाउन सक्छ’ यो भनाइ कसको हो ?
उत्तरः एडोल्फ हिटलर
४०० मिटर लामो नेपालको एक मात्र मानव निर्मित सुरुङ कसको पालामा बनाइएको थियो ?
उत्तरः श्री ३ चन्द्रशमशेर
सात पहाडहरुको शहर भनेर कुन सहरलाई चिनिन्छ ?
उत्तरः रोम (इटाली)
सुपारी विवाह कुन जातिमा प्रचलित छ ?
उत्तरः धिमाल
नेपालको हालको क्षेत्रफल (१,४७,१८१ व.कि.मी.) कहिले देखि कायम भएको हो ?
उत्तरः वि.सं. २०३६ साल
नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
उत्तरः सुवानन्द दास
राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ ?
उत्तरः बैशाली

तीन कक्षा पढेका कवि जसको कविता विश्वविद्यालयमा पढाइन्छ

भारतः भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भर्खरै धीरुभाई अम्बानी, श्री श्री रविशंकर , साइना नेहवाल ललगायतका ५६ जना प्रबुद्ध व्यक्तिहरुलाई पद्म अवार्डले सम्मानित गरे ।
यसै सूचीका एक सहभागी आजीवन विभिन्न कठिनाइहरुलाई जितेर आज समाजको पे्ररणा बनेका छन् । उनको नाम कवि हलधर नाग हो । उनलाई भारतमा मानिसहरु लोक कवि रत्न भनेर चिन्छन् । एक विश्वविद्यालयका ५ विद्यार्थीहहरुले उनको काम र जीवनीमा पिएचडी गर्दैछन् । हलधरलले भने ३ कक्षा मात्रै पढेका छन् । १९५० मा ओडिशाको बारगढ जिल्लामा हलधरको जन्म एक गरिब परिवारमा भएको थियो । उनले मुस्किलका साथ ३ कक्षासम्म पढे । उनी १० वर्षको हुदाँ बाबुको निधन भएको थियो ।
यसपछि उनले आफ्नो परिवारको पेट पाल्नका लागि मिठाई पसलमा २ वर्षसम्म भाडा माझ्ने काम गरे । गाउँका मुखियाले उनलाई स्कुलमा खान पकाउने काम दिए । १६ वर्षमा एक स्कूलमा काम गर्ने क्रममा उनमा ऋण काढेर सानो स्टेशनरी पसल खोल्ने उपाय फुरयो ।
स्टेशनरी चलाउन थालेपछि उनी कविता र लेखनमा समर्पित भए । उनको पहिलो कविता धोनो बारगछ सन् १९९० मा एक स्थानिय पत्रिकामा छापियो ।कवि हलधरले आफ्नो पूरा जीवन जुत्ता चप्पल लगाएका छैनन् । उनी धोती र गन्जी लगाउँछन् । नागका अनुसार एक विधवाका बच्चाको जीवन निकै कठिन हुन्छ । हरेक समय एउटा नयाँ चुनौत आफ्नो अगाडि आएको हुन्छ । उनको कविता भारतका थुप्रै विश्वविद्यालयको पाठ्यक्रममा राखिएको छ । हलधर ग्रन्थावली–२ मा उनको प्रमुख रचना समावेश छ ।हलधरले धेरैजसो संस्कृति, प्रकृति, धर्म र समाजमाथि कविता लेखेका छन् । ६६ वर्षका हलधर नाग कोसली भाषाका महान् कवि हुन् । उनले थुप्रै कविता तथा २० महाकाव्य लेखेका छन् ।

आयो विमानभन्दा छिटो कुद्ने रेल

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।
हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।
नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ । दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ ।
युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ । संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।

अन्त्यमा लेख, रचना पठाउने बारेको सूचना

रमाइलो शनिबार स्तम्भ प्रत्येक शनिबार प्रकाशन हुन्छ । यसका लागि आफ्ना बालबालिकाका प्रतिभा, कथा, कविता, गीत, गजल, चुट्किला, सामान्य ज्ञान, आफ्नो विचार, चित्रकला, विज्ञानसँग सम्बन्धित कुरा, रमाइलो सामग्री आदि हाम्रो कोशी आवाजको इमेल hamrokoshiawaz@gmail.com मा पठाउन सक्नुहुनेछ । सामग्री पठाउँदा शुक्रबारसम्म पठाइसक्नुपर्नेछ ।

प्रकाशित मिति: माघ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend