विराटनगरः सुनसरी रामधुनी–७ स्थित भित्री सडक खण्डमा को१त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी–६ का २० वर्षीय फूलकुमार सदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका सदाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी संखुवासभा पाँचखपन–३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा सहचालक पाचखपन–६ का २३ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको छ ।
सोमबार बेलुका ६ बजे को२त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोइराला घाइते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।