धरानः धरान उच्च माध्यमिक विद्यालयमा रहेको विद्यार्थी सङ्गठन ‘कोसिस’ समूहले विद्यार्थीलाई क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ ।
धरान–१ मा स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी, स्न्याक्स सामग्री प्रदान गर्नुका साथै क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको समूहका पूर्वअध्यक्ष प्रथम अग्रवालले जानकारी दिए । कार्यक्रममा लाग्ने खर्च धरान उच्च र त्यहीका विद्यार्थीबाट सङ्कलन भएको उनले बताए ।
अहिलेको समयमा थुप्रै बालबालिकालाई सानै उमेरदेखि क्यान्सर भएको पाइने गरेको हुनाले बालबालिकालाई क्यान्सर सचेतना कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
समूहमा २०५८ सालमा स्थापना भएको हो । हाल क्लबमा ३५ जना आबद्ध छन् । स्थापनाकालदेखि नै कोसिस समूहले थुप्रै सामाजिक कार्य (रक्तदान, अशक्त र असहायलाई सहयोग, जेब्रा क्रसिङ निर्माण) गरिरहेको प्रथम अग्रवालले बताए ।
विद्यार्थीको सैद्धान्तिक शिक्षासँगै बाहिरी सामाजिक कुराहरूमा सहभागी गराइ उनीहरुको मनोबल वृद्धि गर्ने, व्यक्तित्व विकास र नेतृत्व क्षमता बढाउने उद्देश्यले सो समूह स्थापना गरिएको उनले बताए ।



