ताप्लेजुङः नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले ताप्लेजुङमा संसद विघटनविरुद्ध बिरोध सभा आयोजना गरेको छ ।
सभामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पार्टीका स्थायी कमिटी सदस्य जनाद्र्धन शर्मा र योगेश भट्टराई, जिल्ला इञ्चार्ज भाष्कर काफ्ले, सह–इन्चार्ज तिलकुमार मेन्याङ्बो, प्रदेशसभा सदस्य टंक आङबुहाङ लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका अध्यक्ष नेपालले केपी ओली भनेको चोइटो मात्रै भएको बताउँदै भने, ‘चोइटो चोइटिएर गएका मात्र हुन् ती चोइटिन बानी परेका हुन् ती चोइटी रहन्छन् ।’
उनले सर्वोच्च अदालतको फैसलापछि ओलीको युग सकिने भन्दै आरोप लगाए । ‘सर्वोच्चको फैसलापछि ओली युग अन्त्य हुन्छ, सिधै आफ्नो गाउँ तेह्रथुम फर्किए हुन्छ’, उनले भने, ‘तपाईहरु निर्धक्कका साथ काम गर्नुहोस्, केही फरक पर्दैन ।’
सभामा बोल्दै नेपालले आफूहरुको पार्टी नै आधिकारिक रहेको दावीसमेत गरे । ‘सूर्य चिन्न जहाँ छ त्यहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपा छ, जसको अध्यक्ष प्रचण्ड र माधव रहन्छन्’, उनको भनाइ थियो ।
