धरानः स्व. प्रीति मुखिया स्मृति चौथो छात्रवृत्ति श्री माविका तीन जना विद्यार्थीलाई प्रदान गरिएको छ ।
श्री मावि धरान–१७ मा एक औपचारिक कार्यक्रमबीच तीनजना विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । कक्षा–७ की दिलसा विक, कक्षा–६ की रेखा राई र कक्षा–९ की अविनाश राईलाई सो छात्रवृत्ति दिइएको छ ।
छात्रवृत्ति जनही ७ हजार रुपैयाका दरले प्रदान गरिएको हो । छात्रवृत्ति पूर्व प्रधानाध्यापक तथा साहित्यकार शरणकुमार राई, श्री माविका प्रधानाध्यापक रबि भुजेललगायतले वितरण गरेका थिए ।
प्रधानाध्यापक भुजेलले गत साल पाँच हजार प्रदान गरिएको र यस वर्ष प्रति विद्यार्थी सात हजार प्रदान गरिएको बताए । नेपाल आदिवासी जनजाति सुनसरीका पूर्व सचिव गजेन्द्र सुनुवार, सञ्जय थुलुङले बोलेका थिए । छात्रवृत्ति प्रदान कार्यक्रममा प्रीतिका बुबा प्रदीप मुखिया र आमा देविका मुखियाको उपस्थिति रहेको थियो ।
प्रीतिको २०७१ साल माघ १५ गते नधिन भएको थियो । मुखियाको नाममा उनका बुबाआमाले तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको थियो । धरान–१८ बुद्धचोक निवासी मुखिया दम्पत्तिले स्व. प्रीति पढेकै विद्यालयमा नै अक्षयकोष स्थापना गर्ने योजना बनाएपनि श्री माविमा हालसम्म कुनै पनि छात्रवृत्ति कोष स्थापना नभएकोले त्यहाँ सो छात्रवृत्ति कोष स्थापना गरेको जानकारी दिए ।