धरानः धरानका सुमन परियार गीत गाउन रुचाउँछन्, सँगै गिटार बजाउन पनि । धरानका एउटा ब्याण्डमा आवद्ध उनी विदेश पुगे तर उनले गीत–सङ्गीतलाई चटक्कै बिर्सिएनन् । विदेशमै पनि गीत–सङ्गीतमै रमिरहने उनी तीन वर्ष साउदी अरबमा दुःख गरेर फर्किए । धरान फर्किएर उनले सुरु गरे गिटार व्यवसाय । धरान–९ गौतमपथमा उनको व्यवसाय छ ।
तन्नेरी पुस्ताको बढी गिटार मोहका कारण पनि धरानमा यसको व्यापार फस्टाएको व्यवसायीको भनाइ छ । ‘खासमा भन्ने हो भने अहिले यसको व्यापार राम्रै छ’, उनले भने, ‘साँच्चै भन्ने हो भने तन्नेरी पुस्ताकै कारण पनि यसको व्यवसाय फस्टाएको हो ।’
धराने आफैंमा संगीतप्रेमी छँदैछन्, यो पहिलादेखि नै म्युजिकल सिटीका रुपमा चिनिन्छ । यहाँ दर्जनौं ब्याण्ड खुलेका छन् । कतिपय अस्ताइसके भने अधिकांश ब्याण्ड यहाँ सक्रिय छन् । यहाँका धेरै मानिस राष्ट्रियस्तरका चर्चित कलाकारसम्म बनेका छन् । यहाँ भइरहने कन्सर्ट आदिले पनि यहाँका पुस्ताले गिटार बजाउनतिर ध्यान दिन्छन् । पहिला पहिला त पप गीत भनेपछि धराने पुस्ता हुरुक्कै हुन्थे र अहिले पनि हुरुक्कै छन् । अहिले लोकगीत, आधुनिक गीत, दोहोरी गीतले बजार पिटेपनि पप, रकको मार्केट नघटेको परियार बताउँछन् ।
‘विशेषतः पप गीतका कारण गिटार बिक्री हुने हो, तर अहिले समय फरक छ’, उनले खुलाए, ‘अहिले गिटार बिक्री हुने भनेको धरानमा खुलेका भनेजस्ता होटल, रेष्टुरेण्ट आदिका कारण पनि यो व्यवसाय फस्टाएको हो ।’ उनले होटल, रेष्टुरेण्टमा धेरैजसो रक र पप गीतले नै मार्केट लिएको दावी गरे । ‘खासमा बगरकोटलगायत रेष्टुरेष्टतिर छिर्नुभयो रक कि पप गुञ्जिरहेको भेट्न सकिन्छ ।’ उनले भने ।
पूर्वतिर नै यसको व्यापार फस्टाएको धरान–१२ स्थित गिटार सप नेपालकी सुस्मिता थापा बताउँछिन् । ‘धरानमै ब्याण्डहरु पनि धेरै छन्’, उनले थपिन्, ‘पूर्वाञ्चलभरी हेर्दा धरानभित्र नै बढी ब्याण्ड छन् । पूर्वभर पनि ब्याण्ड छन्, ती ब्याण्डकै कारण व्यवसाय टिकेको हो ।’
‘हुन त ब्याण्डकै कारण बिक्री हुने होइन’, परियारको तर्क छ, ‘अहिले सबैले गिटार किन्न थालेका छन् ।’ उनका अनुसार धरानमा अहिले जसले पनि बजाउँछन् गिटार । ‘धरानको माहौलले गर्दा एसइई सिद्धियो कि युवापुस्ता गिटार किन्न आइपुग्छन्, कारण यो पनि हो कि गिटार सिक भनेर अभिभावकले पनि भनिदिने गर्दछन् । किनभने यो उमेरमा अभिभावक सोच्छन्–छोराछोरी नबिग्रिए हुन्थ्यो, साथीभाइको सङ्गतले बिग्रिने पो हो कि, छोराछोरी नबिग्रिउन भन्नका लागि संगीतमा भुलाउनले लहड पनि छ ।’ परियार भन्छन् ।
त्यसो त अन्य सर्वसाधारण पनि टाइमपासका लागि, घरमा सजाउनका लागि र साथीभाइ जमघट हुँदा बजाइहालौं न त भनेर पनि गिटार किन्ने गरेको व्यवसायी बताउँछन् । ‘प्रोफेनल्ली संगीत क्षेत्रमै नलागेपनि बजाऔं न त घरमै सजाऔं न भन्दै पनि गिटार लाने गरेका छन्’, देवीका ढकाल भन्छिन्, ‘जे हो गिटार अहिले सौखको व्यापार भएपनि सबैलाई मन पर्न थालिसकेकोले यसको मार्केट पनि बस्दो छ ।’
धरानमा एक वर्षअघि आएको गिटार सप नेपालले मन्त्र ब्याण्ड र नितेशजंग सिरिजको गिटार बेच्ने गरेको छ । पवन शर्मा नाम गरेका व्यवसायीले नेपालकै ब्राण्डमा यी ब्याण्डमा गिटार बेच्न थालेका हुन् । काठमाडौंका चार स्थान, धरान, पोखरा र वुटवलमा यसको शाखा छ । सपका कर्मचारी गौरव चौहानले मन्त्र ब्याण्डको ५ हजारदेखि ४५ हजार रुपैयाँसम्मको गिटार बेच्न राखिएको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज





