धरानः २३ सयको हाराहारीमा अध्ययनरत् धरानको नमूना सरकारी स्कुल पब्लिक हाइस्कुलले तेस्रो बस थपेको छ ।
विद्यार्थीको चाप थेग्न नसकेपछि अर्को बस थपिएको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । ‘प्लस टु मात्रै १३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्’, उनले भने, ‘जम्मा २३ सयको हाराहारीमा अध्ययनरत् छन्, नयाँ बस थप्नैपर्ने भयो, त्यही भएर अर्को बस थपेका हौं ।’
सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको पब्लिकले कक्षा–९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु हुँदै गएको प्रधानाध्यापक झाको दावी छ ।
उनले सरकारी स्कुलका विद्यार्थीले बस चढ्नै सक्दैनन् पनि भन्ने गरेको पाइएको तर यहाँ अध्ययनरत विद्यार्थी बस चढ्ने हैसियत राख्ने भइसकेको बताए । ‘सामुदायिक स्कुलमा पढ्ने विद्यार्थी स्कुल बस चढ्नै सक्दैनन् भन्ने कन्सेप्ट थियो, २०७६ साउन महिनामा हामीले आवश्यकताअनुसार एउटा बस थप्यौं तर त्यसले पुगेन त्यसपछि फागुनमा हामीले दोस्रो बस थप्यौं र यो अहिले तेस्रो बस हो ।’ उनले भने । उनले असोजसम्ममा अर्को दुईवटा बस पनि थप्नुपर्ने अवस्था आउन सक्ने आंकलन गरे । ‘अहिलेको तारगेट हेर्ने हो भने विद्यार्थीको चाप थेगिनसक्नु छ, दशैंसम्ममा अझै थप दुईवटा बस आउने सम्भावना बढेर गएको छ ।’
कक्षा–१२ मा ६१० जना विद्यार्थी अध्ययन गरिरहेको पब्लिकमा यस वर्ष कक्षा–११ मा मात्रै ६५० बढी विद्यार्थी भर्ना भइसकेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । त्यसैले अहिले सबैलाई कोटा छ, कोठा छैन भन्दै फर्काउनुपरेको उनले बताए । ‘सरकारी स्कुलमा के को कोटा भन्दै अभिभावक गुनासो पोख्छन्’, उनले थपे, ‘हुन पनि हो तर कोठा नभएपछि कोटा छ, कोठा छैन भन्नुपरिरहेको छ ।’
उनले साउनदेखि नै कोठा अभावले भर्ना प्रक्रिया रोकिएको जानकारी दिए । पब्लिकमा भौतिक पूर्वाधारको अझै अभाव रहेको बताए । ‘हामीले पब्लिकमा कुनै पनि कक्षामा विद्यार्थी भर्ना लिएका छैनौं’, उनले भने, ‘यहाँ कोटा होइन, कोठा अभाव छ, सरकारले भौतिक पूर्वाधारमा जोड दिन आग्रह गर्दछु ।’
पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै प्रधानाध्यापक झाले अहिले त्यो धारणा परिवर्तन भएको बताए । ‘अझ भन्ने हो भने समुदायले त पत्याउँदैन थिए नै स्कुलकै शिक्षकले समेत सरकारी स्कुल पढाउन भनेपछि विश्वास गर्दैनथे यहाँ पढाउने शिक्षकका छोराछोरी पनि निजी विद्यालय पुगेकै हुन्थे तर अहिले शिक्षककै छोराछोरी पनि यहाँ पढिरहेका छन् ।’ उनले भने ।
उनले भौतिक पूर्वाधारका लागि तीन वर्षभित्रमा पूरा गर्ने तयारीका अन्डरग्राउण्ड पार्किङसहितको सुविधा भएको पाँचतले भवन बनाउने तयारीमा जुटेको बताए । कोटा भएपनि कोठा नभएपछि आफूहरु लागिपरेको उनले बताए ।
यस वर्षदेखि विज्ञान सङ्कायमा पनि धरानका निजी स्कुलबाट टप गर्ने विद्यार्थी पनि आउन थालेको बताए ।



