दमकः झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ वर्षीया विष्णुमाया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–२ बाट राईलाई पक्राउ गरेको हो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उता श्रीमतीको हत्या गरी फरार रहेका तेह्रथुमको छथर गाउँपालिका–१ का ५२ वर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन ३ गते सामान्य घरायसी वादविवादको विषयलाई लिएर झैझगडा हुँदा कुटपिट गरेर ५६ वर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन ९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।