ताप्लेजुङः मिक्वाखोला गाउँपालिका–२ स्थित सानिमा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष वानियाँ र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बरबहादुर कामी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
शनिबार दिउँसो ३ बजे काम गरिएको अवस्थामा माथिबाट ढुंगा र माटो खसी किचेर उनीहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।