विराटचोकः मोरङको सुन्दरहरैंचास्थित गोठगाउँ छेऊ (मध्याली पुलनजिक) मा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । घाइते उनीहरुकाके उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिहान १ः४० बजेतिर विराटनगरको कोशी अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा ज्यान जानेमा मोटरसाइकल चालक बेलबारी–११ का २१ वर्षीय अर्जुन न्यौपाने र पछाडि सवार २१ वर्षीय मनोज कट्वाल रहेका छन् ।
सुन्दरहरैंचा–७ गोठगाउँमा विपरीत दिशाबाट आइरहेको हायस र मोटरसाइकल एकआपसमा जुधेका थिए । दुर्घटनामा दुईजना घाइते समेत बनेका छन् । घाइते भएका हायस चालक काठमाण्डौका २८ वर्षीय गणेश थापा, सहचालक बेलबारी निवासी १८ वर्षीय उत्सव गरी दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा४ख६९६ नम्बरको हायस मध्यराति १२ बजेर ४० मिनेटमा एकापसमा जुधेको थियो ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले दिएको जानकारी अनुसार दुर्घटनाका मृतकको बिहान ७ बजे मात्रै पहिचान खुलेको थियो । दुर्घटना भएपनि हायसमा यात्रा गरिरहेका १२ जना यात्रु सकुशल रहेको उनले जानकारी दिए । दुर्घटनामा हायसको अगाडिको भागमा क्षति पुगेको छ । उनका अनुसार हायस काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको थियो । तीव्र गतिमा रहेको मोटरसाइकल हायसको अगाडिको भागमा एक्कासी ठोक्किन पुगेको प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । दुर्घटनापछि मोटरसाइकलमा आगलागी समेत भएको थियो ।