विराटनगरः मोरङको विराटनगर महानगरपालिका–५ बाट लागूऔषध गाँजासहित तीजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धरान–११ का २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका–१ का ३४ वर्षीय चौथानन्द राय रहेका छन् । को१ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको प्रहरी टोलीले टेम्पोको पछाडिपट्टि सिटमुनी लुकाइछिपाइ राखेको अवस्थामा रहेको दुई केजी गाँजासहित पक्राउ गरेको हो ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
यस्तै, विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजना पक्राउ परेका छन् । दिउँसो सवा ३ बजेको समयमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–६ का ३९ वर्षीय विकास अग्रवाललाई लागूऔषध नाइट्राभेट ३०० चक्की र स्पास्मोप्रोक्सिवन ११४ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका अग्रवालको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।