धरानः धरान-१७ स्थित श्री ज्वालामुखी माध्यमिक विद्यालयको अफिस कोठामा आगो लाग्दा १६ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
आइतबार राति करिब २ बजेतिर आगलागी हुँदा अफिस कोठामा रहेका नगद ८२ हजार नगदसहित अन्य महत्वपूर्ण कागजात र फर्निचर जलेका थिए । ‘२०५४ सालदेखि हालसम्म रहेका सबै अभिलेख, माइन्युट बुक, चेक, फर्निचरल, दुई थान ल्यापटप, तीनथान प्रिन्टर, सहायक प्रधानाध्यापक भक्तविलाश पोखरेलले दराजमा राखेको ६० हजार रुपैयाँ, मैले आफैंले दराजमा राखेको २२ हजार रुपैयाँ जलेर नष्ट हुँदा १६ लाख रुपैयाँ बढीको क्षति व्यहोर्नुपरेको छ’, प्रधानाध्यापक भरत खत्रीले भने, ‘क्षतिको विवरण तयार पारेर इलाका प्रहरी कार्यालय धरानमा बुझाइसकेका छौं ।’
उनका अनुसार इलाका प्रहरी कार्यालय धरानमा १६ लाख ६ सय १५ रुपैयाँको क्षतिको विवरण बुझाइएको छ ।
आगलागी के कारणले भएको अहिलेसम्म केही खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले स्थलगत निरीक्षण सकिएको र अनुसन्धान जारी रहेको जानकारी दिए ।
‘हिजो (आइतबार) स्थलगत निरीक्षण र सोधपुछ गरयौं, अनुसन्धानका लागि कुकुर पनि लगिएको थियो’, उनले भने, ‘कसैले आगलागी गराएको नै हो भन्ने ठम्याइ हाम्रो छ ।’
स्थानीयबासी राति निद्रामा रहेको र छिमेकीले आगलागी भएको पाएर होहल्ला गरेका थिए । छिमेकीले होहल्ला गर्दा अफिस कोठाको झ्याल पड्किरहेका थिए । छिमेकीले झयालका शिशा पड्कीएको आवाज सुनेर स्कुलमा आगालागी भयो भन्दै कराएपछि सबै स्थानीयबासी आगलागी भएको स्थानमा पुगेका थिए । धरानको दमकल पुगेर आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट पुराना कागजातबाट सबै जलेको प्रधानाध्यापक खत्रीले जानकारी दिए । उनका अनुसार चेन गेट, अफिस पनि बन्द रहेको अवस्थामा आगलागी हुनु शंकास्पद रहेको बताए । ‘विद्युत सर्ट भएर आगलागी नभएको हुनसक्छ, हामीलाई केही व्यक्तिदेखि शंका छ’, उनले थपे, ‘स्कुलमा रहेको भरयाङ प्रयोग गरेको समेत पाइएको छ ।’