Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दलित विद्यार्थीलाई तीन महिने तयारी कक्षा

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
धरानमा दलित विद्यार्थीलाई तीन महिने तयारी कक्षा

धरानः उच्च शिक्षा अध्ययनका लागि अन्योलमा परेका वा पूर्व तयारीका लागि कक्षा लिन आर्थिक अवस्थाबाट वञ्चित भएका दलित समुदायका १५ जना विद्यार्थीहरुलाई तीनमहिने उच्च शिक्षा अध्ययन पूर्व तयारी कक्षा कार्यक्रम सञ्चालन भएको छ ।
धरान उपमहानगरपालिका अन्तर्गतको दलित विकास समितिद्वारा क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजी, धरान–१ छाताचौकमा फागुन २३ गते कार्यक्रमको उद्घाटन गरिएको दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् ।
नेपाल सरकारका उपसचिव तथा धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा दलित समुदायका व्यक्तिहरुले उच्च शिक्षा लिन आवश्यक भएको बताए । समावेशी राज्य पुर्नसंरचनाका सवालमा शैक्षिक योग्यता कम हुूदा राज्यका विभिन्न तहमा दलित समुदायको सहभागिता न्यून भएकोले धरान उपमहानगरपालिकाले यस प्रकारका कार्यक्रम सञ्चालन गरेर उदाहरणीय कार्य गरेको बताए । दलित विकास समितिले समुदायको आवश्यकतालाई पहिचान गरेर कार्यक्रम सञ्चालन गर्दै आएकोले थोरै लगानीमा समुदायको उत्थान र विकासमा महत्वपूर्ण कार्य गरेको बताए ।
त्यसैगरी कार्यक्रममा धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी महिला विकास निरीक्षक सीताकुमारी विश्वकर्माले दलित विकास समितिले गर्दै आएका कार्यक्रमहरु लक्षित वर्गमा पुगेको बताइन् । उनले समितिको प्रभावकारी कार्यक्रमबाट सामाजिक महाशाखा प्रभावित भएको भन्दै तीन महिनासम्म पूर्वतयारी कक्षा लिएपछि विद्यार्थीहरु अझ अध्ययनमा लगनशील भएर अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।
कार्यक्रममा क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजी धरानका शाखा प्रमुख रोशन पोर्तेलले शिक्षा क्षेत्रमा दलित समुदायको अवस्था दयनीय भएको र त्यसमा उच्च शिक्षा अध्ययनमा एकदमै कम मात्र व्यक्ति भएकाले उच्च शिक्षामा दलित समुदायको पहुूच विस्तार गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए । कार्यक्रमबाट विद्यार्थीको थप शिक्षा लिने क्षमतामा विकास हुनुका साथै प्राविधि विषयहरु नर्सिङ, इन्जिनियरिङ, वालि विज्ञान लगायतका विषय अध्ययन गर्न सहयोग पुग्ने बताए । त्यस्तै कक्षा १२ को अध्ययन पछि क्याम्पस पढ्न सहयोगी हुने बताए ।
क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्रशिक्षक सन्तोष थेवेले छोटो समयमा आफूले विद्यार्थीहरुलाई लेख्न, सुन्न, पढ्न र बुझ्न सक्षम बनाउने बताए । उनले पूर्व तयारी कक्षा कार्यक्रमले अंग्रेजी भाषा प्रशिक्षणमा निखार आएपछि विद्यार्थीले उच्च शिक्षा अध्ययनमा सहज महसुस गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा सहभागी प्रशिक्षार्थी गोविन्द विश्वकर्माले आफुले आर्थिक तथा अन्य कारणले पढाई छोड्नुपरेकोले अहिले धेरै क्षेत्रमा अप्ठ्यारो परेको बताए । उनले १२ कक्षा पछि अध्ययन स्थगित गरेको तर अब तयारी कक्षा लिएर क्याम्पसमा उच्च शिक्षा लिन सहज हुने विश्वासले सहभागि भएको बताए । त्यस्तै, सहभागी अनिता रसाइलीले आफूहरु सामुदायिक विद्यालयबाट अध्ययन गरेर आएको तर क्याम्पसमा अंग्रेजी विषयमा धेरै अध्ययन हुने भएकोले भाषा प्रशिक्षणको आवश्यकता खड्कीएका कारण कार्यक्रम निकै प्रभावकारी हुने विश्वास पलाएको बताइन् । कार्यक्रममा एसईई माथिका कक्षा ११, १२, स्नातक तथा स्नात्तकोत्तरमा अध्ययरत विद्यार्थीहरुको समेत सहभागिता रहेको छ ।
दलित विकास समितिका सदस्य लिला शंकरले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य केदार बराइलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यपालिका सदस्य तथा दलित विकास समितिका अध्यक्ष किशोर परियारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष परियारले दलित समुदायको उच्च शिक्षामा पहुूच विस्तार गर्ने उद्देश्यले लक्षित समुदायलाई सहभागि गराइएको बताए । कार्यक्रमबाट समुदायका व्यक्तिमा उच्च शिक्षा हासिल गर्न थप मिहेनत गर्नुपर्ने र त्यसको तयारीमा लाग्न उत्प्रेरणा मिल्ने अध्यक्ष परियारले बताए ।
पूर्व तयारी कक्षा हरेक दिन २ घण्टा ३ महिनासम्म सञ्चालन हुने सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend