धरानः धरानमा अग्रज पत्रकार हर्ष सुब्बालाई सम्मानित भएका छन् ।
धरानका मास्टर स्व. चक्रबहादुर पालुङ्वाको ८७ औं जन्मजयन्तिको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
सुब्बालाई नगद २० हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री रामकुमार सुब्बा, चक्रबहादुर पालुङ्वा फाउन्डेशनका अध्यक्ष डा. योगेन्द्र पालुङवालगायतले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
यस्तै, धरान–८ स्थित ल्याबोरेटरी माविको कक्षा–११ मा अध्ययनरत विद्यार्थी रोमन थापा मगरलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उनलाई कार्यक्रमका विशेष अतिथि प्रा.डा. टंक न्यौपानेले १३ हजार १ सय ११ रुपैयाँ प्रदान गरे । रोमनलाई कक्षा–११ मा अध्ययनका लागि छात्रवृत्ति दिइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सुब्बा, पूर्व प्रदेश प्रमुख गोविन्द तुम्याहाङ सुब्बा, प्रा.डा. न्यौपाने, जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, प्राध्यापक जीवन राई, पुरस्कृत सुब्बालगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै डा. पालुङवाले सामाजिक कार्य गर्नका लागि फाउन्डेशन स्थापना भएको जानकारी दिए । उनले कोष खडा गरेर फाउन्डेशनलाई बृहत बनाइने जानकारी दिए । उनले वर्षेनी फाउन्डेशनको नामबाट जन्मजयन्तिकै अवसर पारेर जेहेन्दार, उत्कृष्टलगायतका विद्यार्थीलाई छात्रवृत्ति र पत्रकारितालगायत अन्य विधाका व्यक्तित्वलाई सम्मान गर्दै जाने बताए । कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव पुरुषोतम खतिवडा गरेका थिए ।











