विराटनगरः विराटनगर-११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई मोविल र इनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दिउँसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको मोविलसहितको ३ वटा ड्रम, १० लिटरको मोविलसहितको २ वटा बाल्टी, १ लिटरको मोविलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको इनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।
उनले विगत २० वर्ष अगाडिदेखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी बिक्री बितरण गरेको खुल्न आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
