धरानः धरानस्थित युएन कलेज आइपुगेका त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. देवराज शर्माले बिबिएस पढेर सहजै कमाउन सकिने बताएका छन् ।
धरानस्थित युएन कलेजका विद्यार्थीबीच आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले बिएचएम कार्यक्रम सक्नेवित्तिकै तुरुन्त जागिर मिल्ने र पैसा पनि कमाउन सकिने बताए ।
‘बाहिर राम्रो अवसर भएको र नेपालमै भए पनि पढाइ सकिनेबित्तिकै जागिर पाइन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा पैसा कमाउन सकिनेतिर विद्यार्थीको आकर्षण बढी छ ।’
उनले अहिले विद्यार्थीले करिअर हेर्नुपर्ने र बिएचएम सक्नैपर्ने बताए । ‘धेरै विद्यार्थी इन्टर्नका लागि विदेश पुग्छन्, विदेशमा पढ्न छोडेर जागिरमा जाने र पैसा कमाउन खोज्छन् तर पढाइ बिगारिरहेको पनि पाइएको छ’, उनले भने, ‘यसो गर्नै हुँदैन ।’
उनले विद्यार्थीको जागिरको ग्यारेन्टी गर्ने पनि बताए । ‘जागिरको ग्यारेन्टी म गर्छु तर तपाईहरुले मेरो ग्यारेन्टी गर्नुपरयो, तपाईहरुलाई हामीले भन्दा बढी कमाइदिने बनाएका छौं, त्यति भएपछि भएन र ? भनाइको मतलव तपाईले बिएचएम सक्नैपरयो, अहिले करिअर हेर्ने हो पैसा हेर्ने होइन’, उनले थपे ।
यसअघि इन्टर्न सकेर आएका ६०–७० प्रतिशत विद्यार्थीले आफैं केही गर्न लागिपरेकोमा आफूलाई खुशी लागेको उनले बताए । ‘६०–७० प्रतिशत विद्यार्थीले होटल, रेष्टुरेण्ट स्थापना गर्छु, नेपालमै केही गर्छु भनेर फर्किएका छन्’, उनले भने ।
हस्पिटालिटीकै कारण नेपाली विद्यार्थीको रोजाइ विदेशमा समेत हुने गरेको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले बताए । उनले यसअघि विदेश पनि भ्रमणमा पुगेको र त्यहाँका होटलहरुले नेपाली विद्यार्थीको हस्पिटालिटी, काम गर्ने शैली अत्यन्तै मन पराएको बताए । ‘हाम्रो टोली विदेश भ्रमणसम्म पनि पुगेको छ’, उनले थपे, ‘विदेश पुग्दा पनि विदेशका होटल सञ्चालकले नेपाली विद्यार्थीको खुवै तारिफ गरेको पाइयो ।’
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले आफ्नो पुँजीअनुसारको लगानी गरेर व्यवसाय सञ्चालन गर्न पनि सकियो र होटलमा काम पनि गर्न सकिने बताए ।
विदेश गएर पढ्ने मोह सँगसँगै काम गर्दै पढ्न मिल्ने र आफैं होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न सकिने भएकाले पछिल्लो समय धेरैजसो विद्यार्थीको रोजाइमा यो कार्यक्रम परेको कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनले कलेजमा यसपटक विद्यार्थीको चाप थेगिनसक्नु रहेको बताए । ‘खासमा भन्ने हो भने त्रिविविले ३३ वटा कोटा निर्धारण गरिदिएको छ तर यसपटक ९० जना विद्यार्थीले त बिएचएम पढ्नका लागि इन्टर्न नै दिए तर ३३ जनाको कोटा हुनाले ३३ जनाले मात्रै पढ्न पाउने अवस्था सिर्जना भएको छ ।’
यसअघि होटल म्यानेजमेन्टलाई भान्से विद्याका रूपमा मात्र लिने सोंच बदलिँदै गएको र पढाइसँगै कमाउन पनि सकिने विषय भएकाले पनि विद्यार्थीको आकर्षण बढेको उनी बताउँछन् । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ, साथसाथै विदेशमा गएर सातौं र आठौं सेमेस्टर पूरा गर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ र पढ्दै केही कमाउन पनि सकिन्छ ।’
नेपालमा पनि पर्यटकीय विकासका लागि होटल तथा होमेस्टतिर लगानी बढ्दै गएको छ । जसमा होटल म्यानेजमेन्टका विद्यार्थी लागि राम्रो अवसर रहेको उनले बताए ।









