धरानः झापा बिर्तामोड नगरपालिका–३ का २१ वर्षीय मानव राजवंशीलाई लागूऔषध ब्राउनसगुरसहित पक्राउ गरिएको छ ।
बुधबार दिउँसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित मेची खोलाबाट राजवंशीलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्रामसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।
यस्तै, भारत दार्जिलिङका ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुन्या तामाङ मंगलबार सुनसरीको धरानबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ परे । यी त केही प्रतिनिधि पात्र मात्रै हुन् तर प्रदेश १ प्रहरी कार्यालयका अनुसार दिनहुँजसो लागूऔषध कारोबारी पक्राउ परिरहेको जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक विपीन रेग्मीले दिनहुँजसो लागूऔषध कारोबारी पक्राउ पर्दै आएको खुलाए ।
खुल्ला सीमानाका कारण पनि लागूऔषध कारोबारी धमाधम पक्राउ परिरहेको उनले जानकारी दिए । उनका अनुसार लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई ब्यापकरुपमा प्रहरी परिचालन गरेअनुसार बितेको ८ महिनामा १६५१.६८१ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने ११३१.७९० केजी गाँजा बरामद भएको छ । यसैगरी विभिन्न मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ५ हजार ३०५ एम्पुल बरामद भएको छ । अन्य विभिन्न किसिमका मनोद्धिपक औषधिहरु १ हजार ८६४ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५४१ गाँजाका बोट नष्ट गरिएको छ ।
उनका अनुसार प्रदेश १ का मुख्य सहरमा दिनहुँजसो ब्राउन सुगर र अन्य लागूऔषध कारोबारी बढिरहेका छन् । उनले प्रहरीको अभिलेखमा लागूऔषध कारोबारमा संलग्न नै बढी पक्राउ पर्ने गरेको जानकारी गराए । उनीहरूले ल्याएको ब्राउनसुगर धरान, इटहरीको पूर्वी सहरदेखि काठमाडौ हुँदै पश्चिम नेपालसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् ।
ब्राउन सुगरको कारोबार बढेसँगै युवाहरु जोखिममा पर्न थालेपछि त्यसको नियन्त्रण र रोकथामका लागि लागूऔषध ब्यूरोको टोलीलाई छुट्टै परिचालन गर्ने गरिएको छ ।
प्रहरीको अनुसार लागूऔषधको कारोबार र प्रयोगकर्तामा धेरैजसो युवाहरु छन् । १८ देखि ३० वर्ष उमेर समूहका लागूऔषधको कारोबार र प्रयोगकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।