विराटनगरः झापा, मोरङ र उदयपुरको तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।
झापा मेचीनगर–६ का २० वर्षीय विवेक नेम्वाङ १ ग्राम ७०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनलाई पानीटंकीबाट नेपालतर्फ आइरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
यसैगरी मोरङ केराबारी–१० का २९ वर्षीय रणबहादुर राई १० केजी लागूऔषध गाँजासहित पक्राउ परेका छन् । को१९प ९४२ नम्बरको मोटरसाइकलमा सवार गरी आएका उनलाई चेकजाँच गर्दा बोरामा बाँधेर मोटरसाइकलको पछाडि लुकाएर राखिएको गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी उदयपुर कटारी–१ बेलसोतस्थितबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी–३ का २२ वर्षीय ऐसान खान र सोही स्थानका २० वर्षीय सुमन बोगटी रहेका छन् । उनीहरुलाई लागूऔषध नाइट्राभेट–१५ ट्याव्लेट र स्पास्मो प्रोक्जोभिन प्लस ७२ ट्याव्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका चारैजनाउपर सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।