विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१८ बाट नियन्त्रित लागुऔषध ट्याब्लेटसहित तीनजना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो २ बजेको समयमा भारतीय नागरिक अररिया बैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साह र विराटनगर महानगरपालिका–१८ का २ जना बालकलाई डाइजापाम –१९० ट्याब्लेट , फेनारगन–१९० ट्याब्लेट र नुफिन १९० ट्याब्लेटसहित पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक तथा सूचना समन्वय अधिकृत महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
उता झापाको मेचीनगर नगरपालिका–७ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी सतीघट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे स्थानीय ३७ वर्षीय नारायण किसानलाई ३ ग्राम लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।