विराटनगरः प्रदेश १ मा २०७७ साल बैशाखदेखि चैत्र महिनासम्ममा ६ हजार ८ सय ७६ मुद्दा दर्ता र ३८ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस्तो सफलता मिलेको प्रहरीले जनाएको छ ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी–निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारीरुपमा प्रहरी परिचालन भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
चैत्र मसान्त सम्मको एक वर्षको समय अवधिमा मात्र ६ हजार ८ सय ७६ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७८७ जना फरार प्रतिवादी पक्राउ गरी ७४४ वर्ष कैद भुक्तान भई , ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले जानकारी दिए ।
यसैगरी लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई ब्यापकरुपमा प्रहरी परिचालन गरे अनुसार ३४८८ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने १२१३.१९९ केजी गाँजा बरामद भएको छ । यसैगरी विभिन्न मनोद्धिपक क्याप्सुल ५३ हजार १११ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ८ हजार १४२ एम्पुल बरामद भएको छ । अन्य विभिन्न किसिमका मनोद्धिपक औषधिहरु ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२९.९६ रोपनीमा लगाएको गाँजा खेती फँडानी गरी ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ ।
यसैगरी भन्सार चोरी निकासीतर्फ अवैधरुपमा सामान चोरी निकासी गर्ने १५० जना मानिस पक्राउ गर्नुका साथै १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने १४१ जना मानिस र ७०६ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ५५ लाख १८ हजार २२० राजश्व संकलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गर्नुका साथै ३००१.१२ क्यू.फिट. काठ बरामद गरी ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यवस्थापनतर्फ ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधनलाई कारवाही गर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ । २०७७ साल वैशाखदेखि चैत्र महिनासम्ममा ६ हजार ८ सय ७६ मुद्दा दर्ता भई ३८ करोड १२ लाख ६१ हजार १७४ राजश्व संकलन भएको हो ।
अघिल्लो त्रिवर्षीय (वैशाखदेखि चैत्र मसान्तसम्मको) वार्षिक तुलनात्मक तथ्याङ्क
