धरानः मन्त्रिपरिषद् बैठकको निर्णयले धरानका विद्यालय पनि बन्द गर्ने निर्णय भएपनि धरानमा फाट्टफुट्ट विद्यालय सञ्चालनमा आएका छन् ।
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले धरानमा केही विद्यालय सञ्चालनमा आएको जानकारी दिए । ‘खासमा अधिकांश विद्यालय त नभनौं, केही विद्यालय सञ्चालनमा आएको खबर आएको छ, त्यसमा पनि विद्यार्थीको उपस्थिति न्यून रहेको देखियो,’ उनले भने, ‘हिजो हामीले सूचना निकाल्न सकेनौं, आज सूचना जारी गरेर अनलाइन कक्षा सञ्चालनको लागि आग्रह गर्नेछौं ।’ उनले आगामी बैशाख मसान्तसम्म भौतिकरुपमा नभई अनलाइनमार्फत् विद्यालय सञ्चालनमा आफूहरुको पनि जोड रहेको बताए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुरसार प्रदेश १ का धरान, विराटनगर, इटहरी, बिर्तामोड, दमक र मेचीनगरका स्कुल तथा क्याम्पस (शैक्षिक संस्था) हरु विदा गर्ने निर्णय गरेको थियो । बैठकले शैक्षिक संस्था, विद्यालय कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु मात्रै बन्द गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि शहरी क्षेत्रका विद्यालय बन्द गर्न पालिकाहरुलाई आग्रह गरिसकेको छ । ‘हिजो मात्रै सुनसरी प्रशासनबाट खबर आएको हुनाले ढिलो सूचना आउनाले पनि फाट्टफुट्टरुपमा विद्यालय सञ्चालनमा आएको हुनसक्छ’, उनले भने, ‘माथिको आदेश त मान्नैपरयो नि ।’
विद्यालय सञ्चालकहरुले भने काठमाडौंका स्कुल र गतिविधि हेरेर यहाँ पनि विद्यालय बन्द गर्ने निर्णय उपयुक्त नभएको भन्दै गुनासो पोख्दै आएका छन् । उनीहरुले मापदण्ड पुरयाएर परीक्षा सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।